बाढीको वितण्डा भुल्दै सप्तकोसी उच्चबाँध बनाउने भारतसँग सहमति

राजनीति भाद्र ९ २०७४ .
Pm

काठमाडौं,  भदौ ९– भारतको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरुले दिएको सुझावमध्ये एक थियो– भारतले एकतर्फी बनाएका बाँधहरुका कारण नेपाल डुबेको विषय जोडतोडका साथ उठाउनुहोला । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिशेष समय लिएर बोल्दै सीमामा भारतले गैरकानुनी रुपमा बनाएका एकतर्फी बाँधहरु हटाउने एजेण्डा राख्न सुझाव दिनुभएको थियो । सीमा तथा जलस्रोत विज्ञहरुले बिभिन्न माध्यममार्फत प्रधानमन्त्री देउवालाई भारतले सीमामा बनाएका ती दुई दर्जन एकतर्फी बाँध र अग्ला सडकका कारण पानीले निकास नपाएर नेपाल डुबेको विषयमा टेबुल ठोकेर कुरा राख्न आग्रह गरेका थिए ।

कोशी बाँधका सबै ५६ वटा ढोका खोल्न भारतले नमानेकै कारण नेपालमा थप क्षति भएको प्रष्ट छ । तर प्रधानमन्त्री देउवाले प्रमुख बिपक्षी दल, पूर्वप्रधानमन्त्री र विज्ञहरुका सुझावलाई कुनै महत्व दिनुभएन । उहाँले बाढीको विषय त उठाउनु भयो तर बाढीे र डुबानका मुख्य कारणका रुपमा रहेका ती बाँधबारे भने कुरा उठाउनुभएन ।

भारतले त्यसरी बनाएका बाँध नभत्काएसम्म नेपाल बर्षेनी डुवान पर्नेछ । यो बिषय स्वयं भारतीय जलस्रोत विज्ञहरुले समेत बताएका छन् । तर नेपालका प्रधानमन्त्रीले त्यसलाई उठाउन नसक्नु दुर्भाग्य हो । बाढी नियन्त्रणमा समन्यवात्मक प्रयास आवश्यक भएको भन्दै मोदीले त्यसका लागि भारत तयार भएको बताउनुभयो । तर, देउवाले के भन्नुभयो भन्ने प्रष्ट आएको छैन । देउवाले बाँध हटाउने विषय त उठाउनु भएन नै, उल्टै सप्तकोशी उच्च बाँध बनाउन सहमति जनाउनुभएको छ ।

प्रधानमन्त्रीहरुबीच भएको वान टु वान र प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि बिहिबार जारी संयुक्त बक्तब्यमा सप्तकोशी उच्च बाँध अघि बढाउने सहमति भएको उल्लेख छ । बक्तब्यको बुँदा न २८ मा भनिएको छ– सप्तकोसी उच्च बाँध र सुनकोसी स्टोरेज तथा डाइभर्सन योजनाको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को कार्यलाई छिटै अघि बढाउन दुबै प्रधानमन्त्री सहमत भएका छन् ।

सप्तकोसी उच्च बाँध नेपालको हितमा नरहेको विषय जलस्रोत विज्ञहरुले उठाउँदै आएका हुन् । यो बाँध बनेपछि नेपाल थप डुवानमा पर्ने बिषय उठ्दै आएको हो । तर, प्रधानमन्त्री देउवाले यही बिषयमा सहमति गर्नुभएको छ । भारतले एकतर्फी रुपमा कानुन मिचेर बाँधहरु बनाएको भन्ने नेपालको धारणासमेत राख्न नसक्ने प्रधानमन्त्रीले सप्तकोसी उच्च बाँध बनाउन सहमति जनाउनु नेपालको हित विपरित छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top