संविधान संशोधन मधेस विरोधी भएकाले असफल बनायौं : ओली

राजनीति भाद्र ६ २०७४ .
Oli samaaaaaaaaaaaaaaaaaa

काठमाडौं, भदौ ६ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस विरोधी भएकाले सत्तापक्षले ल्याएको संविधान संशोधन असफल गराइएको वताउनु भएको छ । संसदमा मंगलवार विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान संशोधन पास गर्न नभई प्रदेश नम्बर २ को असोज २ गते हुने चुनाव प्रचारका लागि मतदानमा लगिएको समेत वताउनुभयो ।

‘संविधान संशोधन के के विषयमा गर्नु पर्ने, के के विषयमा गर्दा उचित हुने, के के मा गर्दा उचित नहुने हामीले सहमतिका साथ गरौं भन्यौं औचित्यपूर्ण हुनुपर्छ भन्यौं’ ओलीले भन्नुभयो, ‘तर, सहमति नगरी फेल गराउनै भनेर मतदानमा लगियो । असोज २ गतेको चुनावलाई हेरेर ल्याइएको होइन र यो ?’ ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मधेसी जनताको अधिकार कटौती गर्ने र उनीहरुका भाषिक र सांस्कृतिक पहिचान मेट्ने भएकाले आफूहरुले त्यसलाई अस्वीकृत गरेको वताउनु भयो ।

‘यो मधेसी जनताको पक्षमा थिएन, यसलाई फेल गराउनु पर्ने थियो र फेल गराइयो’ ओलीले भन्नुभयो, ‘हाम्रा मैथिली, भोजपुरी, अवधी भाषा, संस्कृतिको पहिचान मेट्न यो संशोधन ल्याइएको थियो ।’ संविधान संशोधन मधेसी जनताले पाएको अधिकार खोस्न ल्याइएको र त्यो कसको सल्लाहमा ल्याइएको प्रष्ट देखिएको पनि वताउनुभयो । ‘सर्पलाई ढाकीमा छोप्दा पनि नदेखिनेगरी छोपिन्छ तर, यहाँ त पातलो जालीले देखिनेगरी छोपिएको थियो’ ओलीले भन्नुभयो, ‘मैथिली, अवधी, भोजपुरी, थारु संस्कृतिको पहिचान मेट्न ल्याइएको प्रस्ताव कसको थियो पातलो जालीले छेक्न सकेको थिएन ।’

संविधान आवश्यकताका आधारमा संशोधन हुन सक्ने तर, त्यसको औचित्यका आधार तय हुनु पर्ने आफ्नो पार्टीले पटक पटक भनेको स्मरण गर्दै ओलीले यसलाई सत्तापक्षले विवाद र ध्रुवीकरणको लागि ल्याएको वताउनु भयो । ‘हामीले बारम्बार भन्यौं, सहमतिसाथ ल्याइयोस्, यसलाई विवादको विषय नबनाउँ । तर, बनाइयो’ ओलीले भन्नुभयो, ‘नियत नै त्यस्तै हो भने प्रतिपक्षीलाई मञ्जुर छ । हामी मनमा कुनै खोट नराखी जनताको विरोधमा हुने प्रस्तावको विरोध गर्छाैं र मधेसी जनताको पक्षमा उभिन्छौं, उभियौं ।’ ओलीले एमाले सबै जाति, भाषी र भूगोलमा बस्ने नेपालीको पार्टी भएको वताउनुभयो ।

मधेसबाटै निर्वाचित हुने जनप्रतिनिधिलाई राष्ट्रिसभा सदस्य चुन्ने मताधिकार खोसिएकाले यस्तो संशोधन प्रस्ताव फेल गराएको ओलीको भनाई थियो । ‘स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभा सदस्यलाई भोट हाल्ने अधिकार खोसेर देशलाई के फाइदा के ? लोकतन्त्रलाई संकीर्ण बनाउन खोजेको होइन र ?’ ओलीको भनाई थियो, ‘त्यसैले यसलाई हामीले अस्वीकार गर्यौं ।’


संशोधनको पक्षमा भोट हाल्ने सत्तापक्षका सांसदहरुले पनि आफ्नो विवेकले यसको समर्थन नगरेको ओलीको भनाई थियो । ‘एउटा समय थियो, दुविधा भयो भने देशको माटो हातमा लिएर सोध्नु भन्थे’ ओलीले भन्नुभयो, ‘अहिले माटो लिएर सोध्ने मित्रहरु अर्कैलाई सोध्नुहुन्छ ।’ संसदमा संशोधनमाथि
भएको छलफल आफूले पनि सुनेको र एकजना सांसदले राष्ट्रवादको नाममा औंला ठड्याउनेलाई संविधान संशोधन प्रस्ताव जवाफ भएको वताएको स्मरण गर्नुभयो । कांग्रेस सांसद प्रदीप गिरीले मंगलवार संसदमा बोल्दै राष्ट्रवादका नाममा जनतामाथि औंला ठड्याइएको जवाफ स्वरुप संविधान संशोधन प्रस्ताव आएको वताउनु भएको थियो ।  

ओलीले राष्ट्र, राष्ट्रियता र स्वाधिनताको पक्षमा नेपालको संसद उभिन सकेकामा धन्यवाद दिनुभयो । ‘एकजना माननीयले राष्ट्रवादको नाममा औंलो ठड्याउनेलाई जवाफ भन्नुभयो’ ओलीको भनाई थियो, ‘मलाई गौरव छ यो सदन राष्ट्रिय स्वाधीनताको पक्षमा उभियो । म धन्याद दिन चाहन्छु ।’


ओलीले आफू प्रधानमन्त्री रहेका बेला पुनर्निर्माण प्रधिकरण समेत नरहेको, भारतीय नाकाबन्दीले अस्त्यस्त रहेका बेला पनि पुनर्निर्माण प्राधिकरण बनाएर काम थालेको स्मरण गर्दै त्यसबेला भूकम्प पीडितप्रति गोहीको आँशु बगाउनेहरु अहिले चुपचाप बसेको वताउनुभयो । ‘म प्रधानमन्त्री हुँदा पुनर्निर्माण प्राधिकरण थिएन, कानुन थिएन, कानुन बनाउन अवरोध भएको थियो । देशमा नाकाबन्दी लागेको थियो, हाहाकार थियो’ ओलीले भन्नुभयो, ‘त्यसबेला सरकार विरुद्ध धुमधामसँग आवाज उठाउने मित्रहरु अहिले सरकारमा हुनुहुन्छ, । यति लामो समय वितिसक्दा आज पनि भूकम्प पीडित प्लाष्टिक मुनी छन्


ओलीले बाढी प्रभावितका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । ‘बाढी प्रभावितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर काम थालौं’ ओलीले भन्नुभयो, ‘सरकारले गरोस् प्रतिपक्ष मिलेर काम गर्न तयार छ । तर, त्यसका लागि सरकार तयार देखिंदैन ।’

प्राप्त प्रतिकृयाहरू

To Top