प्रधानमन्त्री देउवा : संचारमाध्यम नियन्त्रण गर्दिन, मर्यादित हुनुपर्यो

राजनीति भाद्र ४ २०७४ .
Fnj

काठमाडौं,  भदौ ४–  प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया संचालन गर्न गाह्रो भएको आफुले बुझेको भन्दै त्यसलाई सहज बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । उहाँले संचारलाई आफुले नियन्त्रण नगर्ने पनि बताउनुभएको छ ।    

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको काठमाडौंमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले मिडिया संचालन र सञ्चार क्षेत्रलाई बलियो बनाउन आफ्नो सरकार सहयोगी हुने बताउनुभयो  ‘सरकारले विज्ञापनलगायत कुनै पनि विषयमा मिडियालाई कन्ट्रोल गर्दैन,’ उहाँले भन्नुभयो,‘ तर मिडिया मर्यादित रुपमा अघि बढ्न आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले देशको मुख्य प्राथमिकता संविधान कार्यान्वयन भएको भन्दै त्यसमा सबै दल र संचारमाध्यम समेत एक भएर लाग्नुपर्ने बताउनुभयो । लोकतन्त्र र गणतन्त्रका लागि मिडियाकर्मीको योगदान उल्लेख्य रहेको बताउँदै उहाँले संचारमाध्यम र राजनीतिक क्षेत्र एकिकृत भएर हिड्न आवश्यक रहेको बताउनुभयो । सञ्चारमाध्यमले लोकतन्त्रका लागि सुझाव, चेतावनी र आलोचना गरेर राजनीतिक दललाई सहयोग गर्न सक्ने प्रधानमनत्रीको धारणा थियो ।

एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले नेपाल पत्रकार महासंघ र राजनीतिको सम्बन्धको सिमारेखा प्रष्ट रुपमा कोरिनुपर्ने बताउनुभयो । पत्रकारहरुसँग बिचार हुनु स्वभाबिक भएपनि महासंघको नेतृत्वमा व्यवसायिक व्यक्तिहरु आवश्यक हुने बताउनुभयो । उहाँले एमाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै अहिले पनि प्रेसमाथि आक्रमण हुनु अनुचित भएको बताउनुभयो उद्घाटनमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतल बोल्नुभएको थियो ।

देशभरका १५ सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि पत्रकारहरु तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगर प्रतिस्पर्धामा छन् । थाहाखवरका प्रधान संपादक कोइरालालाई प्रेस चौतारी लगायतका संगठनको समर्थन छ ।  महासंघको बन्द सत्र आइतबारदेखि नै सुरु हुने र सोमबार बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top