समाचार / बिचार

गोविन्द गुरु, तपाईंले रोज्नुभएको बाटो फेर्नुहुन्थ्यो कि !

साउन ३० २०७४     दिपेन्द्र श्रेष्ठ
Dipendra

अत्यादरणीय डा. गोविन्द केसीज्यू,

तपाईको सर्वसुलभ, व्यवस्थित, सस्तो र विश्वसनीय स्वास्थ्य सेवा देशका सम्पूर्ण जनताको आँगनमा पुर्याउने चाहनाप्रति मेरो हार्दिक ऐक्यबद्धता, अनि हार्दिक शुभकामना पनि ।

तपाईंको सादा जीवन उच्च विचारको धेरै नेपाली जस्तै म पनि सधैं पुजारी हुँ । डा’साब ! म कार्यालय जाँदा–आउँदा धेरैचोटी तपाईंलाई नारायणगोपाल चोक वरिपरी लुखुर लुखुर हिंडिरहनु भएको देखिरहन्छु । यो दृश्यले मेरा आँखा नै शीतल हुन्छन्– अनायासै तपाईका चरणमा मेरा आँखाहरु विछ्याइदिन्छु र अर्पण गर्ने गर्छु मेरो मन र श्रद्धा । तपाईको अटल व्यक्तित्वप्रति ममा सगरमाथाकै उचाईमा श्रद्धाभाव जागृत हुन्छ, सधंै । तर उत्कृष्ट मानवसेवाको उद्धेश्य बोक्नु भएका तपाईले सो गन्तव्यमा पुग्ने बाटो भने गलत पो रोज्नुभयो कि भन्ने चिन्ता पनि लाग्छ । उद्धेश्य सही तर बाटो गलत भन्दा बरु ठीक उद्धेश्यका लागि बाटो पनि सही अपनाउनु राम्रो हुन्थ्यो कि भन्ने भाव मनमा दौडिन्छ । यसर्थ, तपाईप्रति समर्पित भएर दुई–चार शब्द कोर्दैछु, आशा छ स्वीकार्नु हुनेछ ।
तपाईंको आँगन कस्तो छ ?

सवैभन्दा पहिले म तपाईको वरिपरीका ब्यक्तिहरुको कुरा गर्छु, जो देखावटी रुपमा तपाईंको साथमा छन् र तपाईंको पवित्र गंगाजस्तो ब्यक्तित्वमा हात चोपलेर आफूलाई पवित्र र अरुलाई माफियाको उपमा सजिलै दिन्छन् ।

तपाईको मागमा ऐक्यबद्धता जनाउँदै सबैभन्दा ठूलो स्वरमा तपाईको सपना र जीवनलाई बचाउन लागिपरेका तपाईका महाराजगञ्ज टिचिङ अस्पतालका डाक्टरसाबहरु नै नेपालका सबभन्दा मन नपराईएका डाक्टरहरुमा पर्छन् भन्ने कुरा तपाईलाई एक सर्वसाधारण स्वास्थ्य सेवाग्राहीका नाताले दर्शाउन चाहन्छु । नेपालका उत्कृष्ट स्वास्थ्यकर्मीहरुको थलो टिचिङ अस्पताल, देशको सबभन्दा ठूलो संरचना (भौतिक, मेशिनरी र मानवश्रोतले) धनी संरचना टिचिङ अस्पताल । तर विरामीहरु त्यहाँ उपचार गराउन किन बाध्यता सम्झन्छन् ? मलाई लाग्छ गरिवीको बाध्यताले ।

 तपाईको अस्पतालका स्वास्थ्यकर्मीहरुको व्यवहार त्यहाँ हुँदा र निजी अस्पतालमा हुँदा कति फरक देखिन्छ, तपाईले ख्याल नगर्नुभएको भए पनि अब गर्नुस् । तपाईको मेडिकल कलेजमा त दुई तिहाईभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन्, या भनौं सरकारको पैसाबाट डाक्टर बनेका हुन्छन् । अनि तपाईका उत्पादनहरु किन नेपालका दूर दराजका जनताको स्वास्थ्य सेवामा जान हिच्किचाउँछ डाक्साब ? उहाँहरुले त निसर्त राज्यको दुर्गम ठाउँमा, अझ केही वर्ष निःशुल्क, सेवा गरेर राज्यको ऋण तिर्नुपर्ने हैन र ? झन् उहाँहरु विदेश पलायन हुनु भनेको त गाई काट्ने पाप हैन र डाक्साब ? भन्न खोजेको, पहिला आफू बसेको ठाउँ सफा भएपछि छिमेकीलाई आँगन सफा गर्न उत्प्रेरित गर्दा बढी प्रभावकारी हुन्छ कि भन्ने मेरो सुझाब हो गुरुवर !

नयाँलाई अंकुश किन ?
वास्तवमा डा’साबले नयाँ मेडिकल कलेजहरु उपत्यकामा खोल्न प्रतिबन्ध लगाइनु पर्ने मागप्रति मेरो गम्भीर असहमति हो । देश खुल्ला अर्थतन्त्रमा गएपछि स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र आकर्षित भयो र त्यसपछि देशले स्वास्थ्य क्षेत्रमा छलाङ मारेको कुरा तपाईले बुझ्नुभएकै छ । स्वास्थ्य सेवा जनताको आधारभूत सेवा भएको र यसको जिम्मा सरकारले लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विद्यमान सरकारी अस्पतालको संरचनाबाट यो कुरा हाललाई सम्भव देखिन्न । तसर्थ, सरकारले निजी स्वास्थ्य क्षेत्रसँग समन्वय नगरी संविधानको यो प्रावधान कार्यान्वयन गर्न सम्भव छैन । निजी क्षेत्रलाई स्वास्थ्य क्षेत्रमा आकर्षित पनि गर्नुपर्ने, अनि त्यसो गर्दा उनीहरुले धान्नै नसक्ने गरी सर्त राख्दा (जस्तै उपत्यका बाहिर) उनीहरु कसरी आकर्षित हुन्छन् डाक्साब ? स्वास्थ्य शिक्षा भनेको अत्याधुनिक र निरन्तर प्रगति उन्मुख शिक्षा प्रणाली हो । यसका विद्यार्थीले विश्व समुदाय (अनुसन्धानकर्ता, प्रविधिकर्ता, प्राक्टिसनर आदि) सँग निरन्तर सम्पर्कमा बस्नुपर्ने आवश्यकता र बाध्यता छँदैछ । अनि तपाई किन दुर्गममा मात्र कलेज खोल्न दिनुपर्ने एकोहोरो रटानमा हुनुहुन्छ । ठीक छ, दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुग्नैपर्छ । बरु त्यसका लागि सम्पूर्ण अत्याधुनिक सुविधा सम्पन्न ठाउँमा कलेज खोल्ने र दुर्गम ठाउँमा ती मेडिलक कलेजको स्याटलाईट अस्पताल हुनुपर्ने व्यवस्था गर्दा कसो होला ?

नेपाल मेडिकल काउन्सिलबाट व्यावसायिक प्रमाण–पत्र प्राप्त करिब २० हजार नेपाली डाक्टरहरु छन् । त्यसमध्ये कतिजना नेपालमा कार्यरत छन् भन्ने विवरण हामीसँग छैन । नेपालका मेडिकल कलेजहरुले वर्षमा करिब २,२०० जना डाक्टरहरु उत्पादन गर्ने क्षमता राख्छन् । अझ कोही विद्यार्थी विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको परीक्षामा असफल हुँदा तथ्यांक अझै घट्छ । विश्व स्वास्थ्य संगठनले प्रति १,००० जनताका लागि १ जना डाक्टरको अनुपात हुनुपर्ने मापदण्ड बनाएको छ । यसका लागि नेपालमा हालकै जनसंख्याका लागि ३ लाख डाक्टर आवश्यक छ । नेपाली स्वास्थ्य क्षेत्रको यो माग पुर्याउन हामीले यही गतिमा १५० वर्ष कुर्नुपर्छ, र त्यतिञ्जेल विश्व स्वास्थ्य संगठनको मापदण्ड पनि परिवर्तन भइसकेको हुन्छ भने नेपालको जनसंख्या पनि धेरै गुणा बढिसकेको हुन्छ । नयाँ मेडिकल कलेज खुल्न नदिएर हामी स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउँदैछौं कि दुर्लभ ? नयाँ मेडिकल कलेज नखुल्नु भनेको भइरहेका मेडिकल कलेजको एकाधिकार सुरक्षित गर्नु होइन र ? यातायात ब्यवसायीहरुले आफ्नो रुटमा नयाँ यातायातलाई प्रतिबन्ध लगाउन अपनाएको सिण्डकेट भन्दा यो के फरक छ ? अहिले चलेका निजी मेडिकल कलेज नयाँ खुल्ने भन्दा उम्दा छन् भन्न तपाईं सक्नुहुन्छ ? जवकि तपाईं रहेको सरकारी शिक्षण अस्पतालकै त्यो हालत छ ।  

एमालेप्रति विद्वेष किन ?
अहिले चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसदले पास नगरेको हैन डासाब, सरकारले विधेयक प्रस्तुत नगरेको हो । यो त तपाईंलाई थाहा छ । अनि तपाईका आन्दोलनका स्वरहरु किन संसदमा विधेयक पेश नगर्ने सरकारतिर भन्दा बढी एकोहोरो एमालेतिर सोझिन्छन् ? विधेयक प्रस्तुत गर्नुपर्ने सरकारले यसको आवश्यकता नठान्ने र प्रस्तुत नगर्ने, अनि तपाई र तपाईका शुभचिन्तकहरु चाहिँ प्रतिपक्षी नेताको घरमा जुलुश लिएर घेर्न जाने । घोषित भन्दा बेग्लै पो उद्धेश्य छ कि ?

कुनै पनि विधेयक प्रस्तुत गर्न सरकार प्रतिपक्षसँग सोध्न बाध्य हुँदैन । अझ नेपालमा त सरकारले प्रस्तुत गर्ने विधेयकका बारेमा प्रतिपक्षले सञ्चार माध्यमबाट मात्रै थाहा पाउने गरेका छन् । बुझ्नु्स् डाक्साब, तपाईको माग एमालेले मात्र हैन, सरकारी पक्षले पनि उचित र आवश्यक मानेको छैन । तपाई एमालेविरोधी नहुनुस्, एमाले पनि तपाई विरोधी होइन जस्तो लाग्छ ।

डाक्साबलाई आन्दोलन गर्न उक्साइराख्ने व्यक्तिहरुले नै तपाईका माग पूरा नगरेको घटना अविस्मरणीय छ । विचार गर्नुस् डाक्साब, तपाईको आन्दोलनमा ठूलो स्वरले पत्रकारको भीड लिएर ऐक्यबद्धता जनाउन आउने माननीय गगन थापा स्वास्थ्य मन्त्री भइसकेपछि पनि तपाई अनसन बस्नुपर्ने बाध्यता किन सृजना भयो ?

डाक्साब ! उहाँहरुलाई नै लागेको छ कि तपाईका मागहरु अव्यावहारिक छन् । तर जनताको मन जित्नका लागि मात्र तपाईलाई प्रयोग गरिरहेका छन् । तपाईको उच्च व्यक्तित्व र साहसलाई उहाँहरुले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेका छन् ।

एकोहोरो जिद्दीपनाले तपाईको प्राण उड्यो भने कम्तिमा मेरो धारणा हुनेछ कि तपाईसँग एकताबद्ध भई तपाईलाई उक्साउनेहरु तपाईका हत्यारा हुन् डाक्साब ।
मनमोहनको नाममा किन आक्रोश ?

तपाईका मागहरु प्रत्यक्ष या परोक्ष रुपमा ‘मनमोहन मेडिकल कलेज’ तिरै सोझिएको कुरा घाम जस्तै छर्लङ् छ । मनमोहन मेडिकल कलेज । जहाँसम्म पंक्तिकारलाई जानकारी छ, २ हजार २ सय जना मध्यम वर्गीय नेपाली जनताको थोरै थोरै लगानीबाट चलाइएको सहकारी (गैरव्यावसायिक) संस्था हो । सिद्धान्ततः यसका लगानीकर्ताले आर्थिक लाभ कहिल्यै लिंदैनन्÷लिन पाउँदैनन्, आफू र परिवारका व्यक्ति बिमार पर्दा न्यूनतम मूल्य (अरुलाई भन्दा धेरै कम मूल्य)मा स्वास्थ्य सुविधा पाउने मात्र हो । अनि यस्ता लगानीकर्तालाई तपाईहरुको सम्बोधन– ‘मेडिकल माफिया’ ? अनसनका क्रममा तपाईको शरिरमा एसिडको मात्रा बढेकाले तपाईलाई जलन भइरहेकै हुनुपर्छ । यसमा मनमोहन मेडिकल कलेज लगायत सरकारले इजाजत दिएर लगानी गर्न प्रेरित गराइएका लगानीकर्ता महानुभावहरुको श्रापको पोलाई पनि मिसावट छ कि डाक्साब ?

तपाईले देखिरहनुभएको छ, विद्यमान मेडिकल कलेजको गुणस्तर कति खराब छ, र पनि विद्यार्थीहरु त्यहाँ भर्ना पाउनका लागि सबै चलखेल गर्न बाध्य छन् । किनभने, मेडिकल शिक्षातर्फ विद्यार्थी÷अभिभावकको आकर्षण अत्याधिक छ । तर सिट संख्या सिमित छ । यसले गर्दा एकातिर जेहेन्दार विद्यार्थी हैन बढि पैसा योगदान गर्न सक्ने र माथिल्लो तहको शक्ति÷चलखेल प्रयोग गर्न सक्ने व्यक्तिले अधिकतम भर्ना पाइरहेका छन् । अर्कोतिर, सिट संख्या सिमित भएकाले नेपालका मेडिकल कलेजको नतिजा जति नराम्रो हुँदा पनि उनीहरुलाई अर्को वर्ष विद्यार्थी पाउन कुनै मुश्किल छैन । अनि उनीहरुले केका लागि दुःख गर्ने ? चुस्त व्यवस्थापन, गुणस्तरीय शिक्षा, अनुभवी प्राध्यापक, राम्रा भौतिक पूर्वाधारमा किन खर्च गर्ने ? तसर्थ डाक्साब, जति धेरै मेडिकल कलेज खुल्यो, उती नै धेरै कलेजहरुबीच प्रतिस्पर्धा हुन्छ र उनीहरु गुणस्तरीय शिक्षा र निपुण अभ्यास गराउन बाध्य हुनेछन्, चाहेर पनि नचाहेर पनि । अन्ततोगत्वा यसले तपाईले इच्छ्याउनु भएको गुणस्तरीय डाक्टर उत्पादनमा टेवा पुर्याउने होला नि त !

डाक्टर नथप्ने योजना हो ?
सजिलै देखिन्छ, तपाईका आन्दोलनहरुमा अधिकतम डाक्टरहरुको ऐक्यबद्धता छ । तपाईका भावपूर्ण तपस्यामा पग्लिएर तपाईका अनुयायी बनेका डाक्टरहरु नभएका हैनन् । तर त्यस संख्याभन्दा कैयौं गुणा बढि डाक्टरहरु नेपालमा धेरै मेडिकल कलेज खुल्दा वर्षेनी धेरै डाक्टरहरु उत्पादन हुने र प्रतिस्पर्धा बढ्दा आफ्नो व्यावसायिक जीवन धरापमा पर्ने डरले पछि लागेका पनि छन् डाक्साब । तपाई विचार गर्नुस् त, तपाईको सिन्डिकेटले नयाँ मेडिलक कलेज खुलेनन् भने पनि नेपालीले एमविविएस पढ्न छोड्लान र ? पैसै तिरेर पढ्ने हो, उनीहरु बाध्यताले नै सही, विदेश गएर पढेर आइहाल्छन् नि । यसबाट नेपाली खाडी मुलुकमा र अन्य कामले दुःख गरेर संकलन गरेको करोडौं डलर विदेश पलायन भइरहेको छ । यदि १,००० जना विद्यार्थीहरु रु. ५० लाख खर्च गरेर एमविविएस पढ्न विदेश जान्छन् भने डाक्साब, वर्षेनी रु. ५ अर्ब रुपैयाँ बराबरको हाम्रो डलर विदेश गइरहेको छ, होइन र ? तपाईंले यस तथ्यमा आँखा खोलिदिनु भयो भने बाटो सही पहिल्याउन मदत पुग्थ्यो कि ?

तपार्ईको दीर्घायुको कामना गर्दै,
दिपेन्द्र श्रेष्ठ
टोखा dipsnepal@gmail.com

0 प्रतिकृयाहरू प्राप्त

To Top