राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि निर्वाचन आयोगले दियो भदौ ४ गतेको म्याद

राजनीति साउन ३० २०७४ .
Rappra 1

काठमाडौं, साउन ३०– पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्यहरुको सनाखत गराउन नसकेपछि निर्वाचन आयोगले नै दल विभाजनका लागि म्याद थपिदिएको छ । दल विभाजन गर्दाकै बखत विभाजन गर्न चाहनेल ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधान भए पनि आयोगले तोकेको समयभित्र राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि भदौ ४ गतेसम्म संख्या पुर्याउने समय दिएको हो ।

राप्रपाबाट विभाजित भइ गठन भएको प्रस्तावित राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले आइतबारसम्म ४० प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षर आयोगमा सनाखत गराउन सक्नु भएको थिएन । पार्टी विभाजनका लागि आवश्यक संख्या आयोगमा दाखिल गर्न नसकेपछि राणाले हस्ताक्षर सनाखत गर्ने समय थप गर्न माग गर्नु भएको थियो । राणाको माग अनुरुप निर्वाचन आयोगले भदौ ४ गतेको समयसीमा तोकेको हो ।

राप्रपा अध्यक्ष कमल थापाले राणाले दल विभाजनका लागि निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर नक्कली भएको वताउनु भएको थियो । राणा समूहले गत साउन २२ गते पार्टी विभाजनका लागि सांसद तथा केन्द्रीय सदस्य रहेको दाबी गर्दै आयोगमा हस्ताक्षर बुझाएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनको घोषणा गरेको उक्त पार्टीले ४० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पुष्टी गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही नियमअनुसार आयोगले राप्रपा (प्रजातान्त्रिक) का नेतालाई हस्ताक्षर सनाखत गर्न दिएको समयमा नसकेकाले सोमबार गोरखिपत्रमा सूचना प्रकाशित गरेर ४ गते १० बजेदेखि ५ बजेसम्मको समयसीमा दिएको हो। आयोगले भदौ ४ गतेसम्मको समयसीमा दिएपछि राणा केन्द्रीय सदस्यहरुलाई विभाजनका पक्षमा निर्वाचन आयोग गएर हस्ताक्षर गर्न आग्रह गरिरहनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आयोगको समयसीमाभित्र राणा समूहले हस्ताक्षर सनाखत गर्न नसकेका कारण पार्टी विभाजन प्रक्रिया अगाडि नबढाउन निवेदन दर्ता गराएको छ । पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले सो निवेदन दर्ता गराएको हो।

प्राप्त प्रतिकृयाहरू

To Top