समाचार / समाज

मनसुन : पूर्वबाट पश्चिमतर्फ सक्रिय, चितवन पश्चिम क्षेत्रमा भारी बर्षा हुने

साउन २९ २०७४     .
Flood

काठमाडौं, साउन २९– जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ । यद्यपि बर्षा भने देशभर नै हुनेछ ।

मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद कँडेलले जानकारी दिइन् ।

उनका अनुसार आइतबार सबैभन्दा बढी पानी सिमारामा परेको छ । आइतबार विहान ८ बजेको विभागको रेकर्ड अनुसार सवैभन्दा बढी सिमरामा एकसय ९२ मिलिमिटर पानी परेको छ भने सवैभन्दा कम डडेलधुरामा ०.० मिलिलिटर पानी परेको छ ।  सामान्यतया एकसय मिलिमिटर भन्दा बढि पानी पर्दा भारी बर्षा भनिन्छ ।
विभागका अनुसार पश्चिमका चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, हुदै कञ्चनपुरतिर मनसुन केन्द्रित भएकाले सोमबारसम्म ती स्थानमा भारी बर्षा हुनेछ ।

यता, भारी वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ ।

सामान्यतया नेपालमा मनसुन १० जुनबाट पुर्वी नेपालबाट सुरु भई देशभर फैलने गर्छ ।
 

 

0 प्रतिकृयाहरू प्राप्त

To Top