एमाले बैठकमा प्रस्तुत प्रदेश २ को चुनावी सर्वेक्षणः ६३ देखि ७४ जित्ने

राजनीति साउन २४ २०७४ .
Uml office

काठमाडौं, २४ साउन–प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टीका पदाधिकारीलाई खटाएको एमालेले त्याहाँको प्रारम्भिक रिपोर्ट तयार गरेको छ । प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको स्रोतले वताएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर २ गएका एमाले महासचिव ईश्वर पोखरेलको कमाण्डमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्यहरुले आफू खटेका जिल्लाको प्रारम्भिक रिपोर्ट बुझाउनु भएको छ । यसअघि महासचिव पोखरेल बीरगञ्ज र धनुषा, उपमहासचिव विष्णु पौडेल बारा, घनश्याम भुसाल रौतहट, सचिव प्रदीप ज्ञवाली सिराहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरीमा भेला र भेटघाट चलाएर प्रारम्भिक सर्भेक्षण समेत गरेर फर्किनु भएको थियो । अभियानका क्रममा उहाँहरुले कार्यकर्ता, स्थानीय सामाजिक अभियन्ताहरुसँग संवाद गरी स्थानीय समस्याहरुवारे छलफल गर्नु भएको थियो भने पार्टीका भेला र बैठकहरुमा सहभागि हुनु भएको थियो ।

आफू खटेका जिल्लाबाट प्रारम्भिक रिपोर्ट लिएर फर्केका एमाले नेताहरुले स्थायी समिति बैठकमा ती जिल्लाको सम्भावित चुनावी आकडा प्रस्तुत गर्नु भएको थियो । रिपोर्ट अनुसार एमालेले प्रदेश नम्बर २ को स्थानीय चुनावमा ६३ देखि ७४ स्थानीय तह जित्ने प्रक्षेपण गरिएको छ । प्रदेश नम्बर २ मा सकेसम्म कांग्रेस बाहेकका दलसँग तालमेल गर्नु पर्ने पनि उहाँहरुले सुझाव प्रस्तुत गर्नुभएको छ ।

 ८ वटै जिल्लाका १२७ वटै स्थानीय तहमा कुन दलसँग प्रतिस्पर्धा हुने भन्ने पनि आकडा एमाले नेताहरुले प्रस्तुत गर्नुभएको छ । धेरैजसो स्थानीय तहमा कांग्रेससँग प्रतिस्पर्धा, त्यो भन्दा कम तहमा राजपा र संघीय समाजवादी फोरम र केही तहमा माओवादीसँग पनि प्रतिस्पर्धा हुने आकडा एमालेसँग छ । तालमेलको नीति अपनाएर गए ७४ वटासम्म स्थानीय तह जित्न सकिने र आन्तरिक परिचालन ब्यवस्थित हुन सके विना तालमेल पनि ६३ वटा स्थानीय तह जित्ने एमालेको प्रारम्भिक मुल्यांकन छ । बैठकपछि एमाले नेताहरु फेरि प्रदेश नम्बर २ मै फर्किसक्नु भएको छ ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top