भदौ १ गतेभित्र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको माग

राजनीति साउन २३ २०७४ .
Nirwachan

काठमाडौं,  साउन २३
निर्वाचन आयोगले भदौ १ गतेभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीले एक हप्ताभित्र मिति नतोके चुनाव गर्न कठिन हुने बताएका हुन्। आउँदो माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ। त्यसैले सरकारले आउँदो मंसिरसम्म निर्वाचन गर्ने बताउँदै आएको छ। आयोगले मंसिरभित्र निर्वाचन गर्ने हो भने भदौ १ गते नै मिति तोक्न माग गरेको हो। 'हामीलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने जिम्मेवारी छ।

भदौ १ भित्र निर्वाचनको मिति घोषण नगरे तयारीमा कठिन हुन सक्छ' प्रधानमन्त्रीसँगको भेटपछि प्रमुख आयुक्त यादवले भने 'भदौ १ गतेभित्र मिति तोक्न हामीले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरायौं। उहाँले सबै दलसँग छलफल गरेर मिति घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ।' निर्वाचन आयोगले साउन मशान्तभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आफूहरुलाई उपलब्ध गराउनुपर्ने बताएको छ। यसअघि नै साउन मशान्तभित्र प्रतिवेदन माग गरेको निर्वाचन आयोगले अब थोरै समय मात्र बाँकी रहेको भन्दै आफूहरुलाई समयमा नै क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन फेरि ध्यानाकर्षण गराएको हो। सरकारले निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरेको आयोगले हाल क्षेत्र निर्धारणको काम गरिरहेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विधेयक पारित गर्न ढिलाई भएको भन्दै आफूलाई छिटो ऐन चाहिने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ।

उक्त विधेयक यथासिघ्र पारित गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराएको प्रमुख आयुक्त यादवले बताए। यी दुई विधेयकमाथि हाल संसदको राज्य व्यवस्थामा छलफल चलिरहेको छ। साउन २५ गते विधेयकमाथि दफाबार छलफल गर्ने र त्यसपछि पारित गरेर संसदमा पेश गर्ने राज्य व्यवस्था समितिको तयारी छ। निर्वाचन आयोगले साउन १५ भित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन ऐन ल्याउन सरकारलाई ध्यानाकर्षण गराएको थियो। तर सरकारले अहिलेसम्म दिन सकेको छैन। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावमा मत पत्रको सट्टामा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। यस विषयमा पनि प्रधानमन्त्री देउवाले सकारात्मक प्रतिक्रिया दिएका प्रमुख आयुक्त यादवले बताए।

 

प्राप्त प्रतिकृयाहरू

To Top