समाचार / विश्व

उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध, क्षेप्यास्त्र परीक्षण तत्काल बन्द गर : चीन

साउन २३ २०७४     एजेन्सी
Korea

एजेन्सी, मनिला   |

उत्तर कोरियालाई आणविक परीक्षण तत्काल रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई नउक्साउन चीनले आग्रह गरेको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ताजा प्रतिबन्ध लगाएपछि चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरियाका समकक्षी री योङ होलाई फिलिपिन्समा सो आग्रह गरेका हुन् । आइतबार मनिलामा भएको भेटवार्तामा विदेशमन्त्री यीले कोरियाली समकक्षीलाई संयुक्त राष्ट्रसंघको प्रस्ताव पालना गर्नसमेत सुझाब दिएका हुन् । तर, उत्तर कोरियाली विदेशमन्त्री रीको जवाफ के थियो भन्नेबारे वाङले केही खुलाएनन् ।

प्रतिबन्ध अन्तिम विकल्प होइन

उत्तरका आणविक गतिविधि रोक्न प्रतिबन्ध आवश्यक भए पनि अन्तिम विकल्प नभएको विदेशमन्त्री वाङले बताए । वार्ताबाटै समस्या समाधान गर्न आग्रह गर्दै उनले कोरियाली प्रायद्वीपमा तनाव नचर्काउन अमेरिका र दक्षिण कोरियालाई सुझाब दिए । समस्या थप जटिल हँुदै गएको बताउँदै उनले दुवै देशलाई उत्तर कोरियासँग वार्ता गर्न आग्रह गरे । जुलाई महिनामा मात्र उत्तर कोरियाले दुईवटा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरिसकेको छ । सम्पूर्ण अमेरिका आफ्नो क्षेप्यास्त्रको पहुँचभित्र रहेको उसले दाबी गर्दै आएको छ । परीक्षणको दक्षिण कोरिया, जापान, अमेरिकालगायतले कडा विरोध गरेका थिए । सोही परीक्षणको विरोधस्वरूप उसमाथि राष्ट्रसंघले आइतबार ताजा नाकाबन्दी लगाएको हो । तर, राष्ट्रसंघका यसअघिका प्रतिबन्ध उत्तर कोरियाका आणविक परीक्षण रोक्न सफल
भएका छैनन् ।

चीन र रसिया दुवै नाकाबन्दीको पक्षमा

यसअघि उत्तरविरुद्ध राष्ट्रसंघले गरेका प्रायः प्रस्तावमा भिटो प्रयोग गरी विफल पार्दै आएको चीनले उत्तर कोरियामा नाकाबन्दी लगाउने सुरक्षा परिषद्को प्रस्तावको पक्षमा मतदान गरेको छ । मतदान गर्नुअघि चीनले राष्ट्रसंघका लागि अमेरिकी विशेष दूत निक्की हेलीसँग छलफल गरेको थियो । प्रतिबन्ध लगाउने पक्षमा चीनको हस्ताक्षरलाई अमेरिकालगायत अन्य देशले निकै महŒवका साथ हेरिरहेका छन् । बेइजिङले प्रतिबन्धको पूर्ण पालना गर्ने विभिन्न मुलुकहरूले विश्वास गरेका छन् । यसै वर्षको सुरुमा प्योङयालाई दबाब दिन चीनले कोइला आयातमा रोक लगाएको थियो । अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दीबाट क्रुद्ध बनेको रसियाले पनि उत्तरमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेको छ ।

मनिला भेलामा आणविक विषय मुख्य मुद्दा

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनलगायत विभिन्न देशका कूटनीतिज्ञ मनिलामा भेला भएका छन् । भेलामा उत्तर कोरियाको आणविक कार्यक्रमबारे छलफल हुने अनुमान गरिएको छ । तर, विदेशमन्त्री टिलरसन र उत्तर कोरियाली प्रतिनिधिबीच द्विपक्षीय वार्ता हुने कुनै योजना छैन । दक्षिण कोरियाली विदेशमन्त्री काङ क्योङ ह्वासँग छलफल गर्दै विदेशमन्त्री टिलरसनले उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्धको स्वागत गरे ।

प्रतिबन्ध महँगो साबित हुनेछ

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धले प्योङयाङले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका । प्रतिबन्धले उत्तर कोरियालाई बर्सेनि १ अर्ब डलरभन्दा बढी घाटा लाग्ने ट्रम्पको दाबी छ । कोइला, समुद्री जीव र अन्य कच्चा पदार्थ चीन निर्यात गरेर उत्तर कोरियाले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाएको थियो । उत्तरले हरेक वर्ष ३ अर्बबराबरको सामग्री चीन निर्यात गर्दथ्यो, तर नयाँ प्रतिबन्धले उसको व्यापार २ अर्बमा खुम्चिने निश्चित छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top