‘भरतपुरमा रेणु दाहालले स्कर्टिङ गरेरै पैसा बाँडिन’

राजनीति साउन २० २०७४ .
Renu dahal

भरतपुर, साउन २० । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट मेयर पदकी उम्मेदवार रेणु दाहालले विहिबार (हिजो) राति पैसा बाँडेको आरोप लागेको छ ।

भरतपुरको मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धन जिताउन भरतपुरको १९ नम्बर वडामा रातभर पैसा बाँडिएको बताए ।

‘कांग्रेस–माओवादी गठबन्धन जिताउन राज्यशक्तिको दुरूपयोग गरेर भरतपुर–१९ मा पैसा बाँडिएको छ,’ वडा नम्बर १९ मा आज भइरहेको पुनःमतदानका क्रममा शारदा मावि मतदानस्थलमा भेटिएका ज्ञवालीले भने– ‘ममाथि ठूलो अन्याय भयो । सुरक्षाकर्मी खटाएर उम्मेदवारकै उपस्थितीमा स्कर्टिङमै पैसा बाँडियो ।’ भरतपुर १९ को मिलचोकमा राति साढे १ बजे रेणु दाहाल प्रहरी स्कर्टिङमै गएर पैसा बाँडेको उनको आरोप छ ।

एमाले उम्मेदवार ज्ञवालीले आफूमाथि अन्याय भएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई भेटेर यसबारे गुनासो पोखेका छन् ।

३ हजार ७ सय ९७ मतदाता रहेको भरतपुर को १९ नम्बर वडामा आज पुनःमतदान भइरहेको छ । यहाँ ३ मतदानस्थलमा ६ मतदान केन्द्र छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top