१५ घण्टादेखि मुग्लिन सडक अवरुद्ध, सुरु भयो पहिरो हटाउने काम

समाज साउन १९ २०७४ .
Narayanghat muglin sadak

  चितवन, साउन १९ | चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत कालिखोलामा खसेको ठूलो पहिरोका कारण १५ घण्टादेखि सडक अवरुद्ध छ। भारी बर्षा र ढुंगा खस्ने क्रम नरोकिएकाले सडक अवरुद्ध भएको करिब १४ घण्टापछि बिहीबार साढे १० बजेदेखि पहिरो हटाउन थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार कालिखोला लगायत विभिन्न क्षेत्रमा पहिरो खसेकाले दिनभर नै यातायात प्रभावित हुने बताए। अहिले सडकमा फसेका गाडीहरु निकाल्ने कामलाई प्राथमिकता दिइएको छ।

बुधबार साँझ ७ः३५ बजे सडकको ३० मिटर क्षेत्रमा खसेको पहिरो लगातारको बर्षा र ढुंगा खस्नेक्रम नरोकिंदा पन्छाउन नसकिएको हो। पहिरोका कारण साँझ सात बजे मुग्लिनबाट छुटेका केही गाडी र ६ बजे नारायणगढबाट छुटेका सयौं गाडी बीच बाटोमै अलपत्र छन्। विहान छुट्नुपर्ने गाडी समेत पहिरोले रोकिएको छ। पहिरोसँगै आएको ढुंगाले बा १५ च ९३८१ नम्बरको स्कोरपियोलाई च्यापेको छ भने काठमाडौबाट इलाम जाँदै गरेको गरेको ना ६ ख ७१२१ नम्बरको बस बगाएको छ। त्रिशुली नदीमा पुर्‍याएको बसको केही भाग देखिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। पहिरो खस्न थालेपछि चालक सहित बसमा सवार २१ जना र स्कारपियोमा सवार ४ जना भने भागेर बच्न सफल भएका छन्। राती नै उद्दारका लागि चितवनको भरतपुरबाट गएको प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठ सहितको टोली भने जलविरेसम्म पुगेपछि बर्षा भैरहेको र विभिन्न क्षेत्रमा पहिरो तथा ढुंगा खस्नेक्रम नरोकिएपछि जान सकेन।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत निरीक्षण गरेर कामलाई तिब्रता दिन निर्देशन दिएकै दिन बुधबार सो घटना भएको हो। सोही क्षेत्रमा यसअघि गएको असार ९ गते पहिरोले बगाएर तीन प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता छन्। सो समयमा प्रहरीको भ्यान र एउटा ट्रक समेत बगाएको थियो। त्यसअघि गएको चैतमा पहिरोले च्यापेर सोही सडकखण्डको घुमाउनेमा २ जनाको मृत्यु भएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top