बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने

समाज साउन ४ २०७४ .
Nirwachan

काठमाडौं साउन, ४। १ साउनदेखि सुरु भएको मतदाता नामावली दर्ता कार्यक्रम प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा नभएसम्म सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले स्थानीय तहको कार्यालयमा १६ साउनदेखि ३२ साउनसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्णय भएको छ । आयोगका अनुसार १५ साउनसम्म क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मात्रै मतदाता नामावली दर्ता गर्न सकिनेछ ।

दलहरूले मतदाताको नामावली दर्ता कार्यक्रमलाई लम्ब्याउनुपर्ने र स्थानीय तहका कार्यालयबाट पनि नामावली दर्ता गराउनुपर्ने माग गरेका थिए । आयोगले १५ साउनसम्म जिल्ला निर्वाचन कार्यालयमा मात्रै मतदाता नामावली दर्ता गराउने निर्णय गरेको थियो ।

आयोगको पछिल्लो निर्णयअनुसार बाह्य जिल्लाका मतदाताले पनि पायक पर्ने जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सक्नेछन् । आयोगका क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा बाह्य जिल्लाका मतदाताको नाम पनि दर्ता गर्न सकिने आयोगले जनाएको छ । मतदाता नामावलीमाथि दाबी–विरोध तथा अद्यावधिक गर्ने काम निर्वाचनको मिति घोषणा भएपश्चात् मात्रै गर्ने निर्णय पनि आयोगले गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top