न्यूनतम आधार नै नभएका ठाउँमा जनप्रतिनिधिका ठूलै कुरा, स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

समाज साउन ४ २०७४ रासस
Smart city concept

धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित सूचना–प्रविधि पार्कमा भेला भएका थिए ।

स्थानीय तह निर्वाचनका बेलामा सबै राजनीतिक दल र त्यसका प्रतिनिधिले आफ्नो घोषणा पत्रमा स्मार्ट सिटी बनाउने भन्ने विषयमा उल्लेख गरिएको भएपनि वास्तवमा स्मार्ट सिटी के हो र कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा सहज बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेलले बताए ।

सूचना प्रविधि पार्कमा आयोजित गोष्ठीमा बोल्दै पूर्व सूचना तथा वातावरण प्रविधि मन्त्री गणेश शाहले नेपालमा बढी सहरीकरण भइरहेको भन्दै त्यसमा व्यवस्थित गर्न नसकेमा समस्या उत्पन्न हुने बताए ।

“शहरीकरणको नाममा तीव्रगतिमा विकास भइरहेको छ, जसले गर्दा अव्यवस्थित छ ।” शाहले भने, “स्मार्ट सिटी बनाउने हो भने कुल बजेटको एक प्रतिशत बजेट विज्ञान प्रविधिको विकासमा छुट्याउनुहो्स् ।”

“सडक बनाउने, पेटी फुटिरहने, तार टाँग्ने पोल बाङ्गो हुने, यस्तो अवस्थाले स्मार्ट सिटी बन्दैन ।” पूर्वमन्त्री शाहले भने, “जनप्रतिनिधिले विद्युतीय शासन पद्धति प्रयोगमा ल्याउनुस् ।”

उनले जनप्रतिनिधिलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आइसिटी मैत्री बनाउँदै लैजानसमेत सुझाव दिए । त्यसका लागि जीवन्त पद्धतिको विकास गर्दै हरेक शहरमा सार्वजनिक पुस्तकालयको स्थापना गर्न आग्रह गरे ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा राकमण्ठ माकजु श्रेष्ठले संरचनाले मात्रै आइटी सिटी नबन्ने उल्लेख गर्दै त्यसका लागि काम गर्ने जनशक्ति र बौद्धिकतालाई परिचालन गर्न आवश्यक रहेको बताए ।

“ज्ञानको सृष्टि गर्नुपर्छ र भावी पुस्तालाई सशक्तीकरण गर्नुपर्छ ।” श्रेष्ठले भने, “जहाँ गर्दागर्दै सिक्न सक्छ र सिक्दासिक्दै गर्न सक्छ ।”

त्यसका लागि जनप्रतिनिधि र विश्वविद्यालयबीचको सहकार्य आवश्यक रहेको उनले बताए । श्रेष्ठले काठमाडौँजस्तो शहरमा स्मार्ट सिटी बनाउन नसकिने समेत बताए ।

“काठमाडौँमा १०–१५ मिनेटमा हिँडेर जाने ठाउँमा खानेपानीको धारा छैन, आधा घण्टा हिँडेर आराम गर्ने पार्क छैन, केही समय हिँडेर पुग्ने खोलाको छेउ छैन, अनि किसानलाई काम गर्दागर्दै एक कुनामा गएर पिसाब फेर्ने ठाउँ नभएको ठाउँमा स्मार्ट सिटीको कुरा गरेर हुन्छ ?” उनले प्रश्न गरे ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक आनन्दराज ढुंगानाले भने स्मार्ट सिटी नारा मात्रै नभई ‘कमिटमेन्ट’ हो भने स्मार्ट सिटी बनाउन गाह्रो नहुने बताए ।

के हो स्मार्ट सिटी ?

कार्यक्रमको पहिलो सत्रमा काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागका प्रमुख डा मनिष पोखरेल र इञ्जिनियर किशोर थापाले स्मार्ट सिटी र त्यसको उपयोग र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा आ–आफ्नो प्रस्तुति राखे ।

आफ्नो प्रस्तुति राख्दै इञ्जिनियर किशोर थापाले भने “सूचनाको अधिकतम प्रयोग गरी सेवा सुविधालाई सहज र सरल बनाइएको शहर नै स्मार्ट सिटी हो ।” उनले नागरिक–नागरिक र नागरिक सरकारबीचको सञ्चार र संवादलाई सहज र सर्वसुलभ बनाइने शहर नै स्मार्ट सिटी भएको उल्लेख गर्दै स्मार्ट सिटी बन्नका लागि विभिन्न सेवा सुविधा, इन्टरनेटमार्फत अटोमेशन प्रणालीमा आबद्ध शहर हुनुपर्ने बताए ।

सो अवसरमा उनले स्मार्ट सिटी बन्न फुर्तिला, स्वस्थ, लगनशील र उत्पादनशील नागरिक बस्ने शहर हुनुपर्ने उल्लेख गर्दै ऊर्जाको कम खपत हुने र वातावरणमैत्री पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने बताए ।

त्यसका लागि व्यवस्थित र योजनाबद्ध बस्ती, ब्रोडब्याण्डसहितको इन्टरनेट सुविधा, नियमित विद्युत् आपूर्ति र आवश्यक हार्डवेयर र सफ्टवेयरको व्यवस्था, नागरिकलाई सूचना प्रविधिसम्बन्धी आधारभूत तालिम र विभिन्न सेवा र सूचना आदान–प्रदान गर्ने मोबाइल एप्सको प्रयोगलगायतका आवश्यक पूर्वाधार हुनुपर्ने बताए ।

डा पोखरेलले पानी व्यवस्थापन, कृषि व्यवस्थापन र फोहर व्यवस्थापन गर्नसकेमा स्मार्ट सिटी बन्ने बताए । “त्यसको लागि आफ्नो–आफ्नो नगरको सम्भावना आफैँले पहिल्याएर गर्ने कामको थालनी गरेमा स्मार्ट सिटी बनाउन सकिन्छ ।” पोखरेलले भने, “हाम्रो नगरमा ताल र नदी भएपनि धारामा पानी थाप्न घण्टौँ लाइन बस्नुपर्छ, तल कोशी बगिरहेको भएपनि माथि खेतबारी बाँझै हुने समस्याले कसरी स्मार्ट सिटी बनाउन मद्दत गर्छ ?”

गोष्ठीमा काभ्रेपलाञ्चोकका बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध र मण्डन देउपुर नगरपालिका, काठमाडौँको कागेश्वरी नगरपालिका, ललितपुर महानगरपालिका, कास्कीको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो ।

के भने नगरका प्रमुखले ?

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जनताको सेवा लिने प्रणालीलाई व्यवस्थित बनाउँदै शासनलाई बलियो बनाउने र विद्युतीय शासनको विकास गर्न आवश्यक रहेको बताए ।

ब्याञ्जुले धुलिखेलमा धुलिखेल सामुदायिक अस्पताल र नेपालकै नमूना खानेपानी उपभोक्ता समितिलगायतको काम भएका कारण पनि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए । त्यससँगै काभ्रे एकीकृत खानेपानीलाई व्यवस्थित बनाउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको उनको भनाइ थियो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानीय तहको सरकार स्थापना भइसकेको अवस्थामा सेवा सुविधाको जानकारी नागरिकसम्म छिटो पु¥याउनका लागि पनि स्मार्ट सिटीको आवश्यकता रहेको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरमा इलेक्ट्रोनिक नक्सापास गर्ने प्रविधि द्रुतगतिमा भइरहेकाले हिजोकै पद्धतिमा टिप्पणी उठाएर कार्यान्वयन गर्ने हो भने अहिलेको जनप्रतिनिधिको औचित्य नभएको भन्दै गरेका कामको अवस्थालाई इलेक्ट्रोनिक पद्धतिमा लानको लागि पनि इसिस्टमको आवश्यक भएको बताए ।

“अबको वडाप्रमुखले नागरिकको काम गर्न निवेदन लेख्ने होइन, फोन गर्ने, म्यासेज लेख्ने वा फोटो खिचेर समस्या के हो पठाउने, अनि काम गर्न कति दिन कति समय लाग्छ, त्यसको जानकारी सेवाग्राहीलाई छिटो दिने भनेर निर्देशनसमेत दिइसकेको अवस्थामा इसिस्टम आफ्नो नगरको लागि अत्यन्तै आवश्यक भएको बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सेवाग्राहीलाई जनप्रतिनिधले गरेको कामको जानकारी दिनको लागि आइटीको माध्यमबाट छिटो हुने भएकाले स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए ।

नगरपालिकाको जनसांख्यिक तथ्याँक लिनको लागि पनि आइटीको प्रयोग गर्नुपर्ने भएकाले इसिस्टम आवश्यक भइसकेको बताए ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो नगरको कृषकलाई कृषिबाट नै धनी बनाउन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसको लागि स्मार्ट सिटी बनाउन आवश्यक रहेको बताए ।

खरेलले भने “अब नगरको कामलाई स्मार्ट एग्रीकल्चरबाट शुरु गर्नुपर्छ ।” कृषकको आयस्तर बढाउनका लागि र बस्ती व्यवस्थापनको लागि पनि स्मार्ट सिटीको अवधारणाबाट मात्रै विकास गर्न लागेको बताए ।

त्यसरी काम गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै काठमाडौँ विश्वविद्यालयले जनशक्तिको व्यवस्थापन गर्नमा आवश्यक सहयोग गर्न पनि गोष्ठीमा सहभागी जनप्रतिनिधिले आग्रह गरे ।

विश्वविद्यालयले आवश्यक सहयोग र जनशक्तिको उपलब्धताको लागि सधैँ तयार रहेको बताउँदै त्यसका लागि नगरपालिका र विश्वविद्यालयबीचको समन्वय जरुरी रहेको जनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top