बुटवलको अव्यवस्थित बस्ती र सुकुम्बासीको लगत संकलन गरिने

समाज साउन १ २०७४ .
Butl

बुटवल । अव्यवस्तिथ बसोबास र सुकुम्बासी समस्या बुटवलको नौलो समस्या होइन् । यो समस्या समाधानका लागि धेरै पटक पहल भएपनि त्यो अझै समाधान हुन सकेको छैन । राजनीतिक दलहरुले चुनावी नाराका रुपमा यसैलाई बढि उठाउने गर्छन् ।
पछिल्लो पटक सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले समस्या समाधानमा चासो दिनेलाई मात्रै मतदान गर्ने भन्दै अडान लिएपछि यो समस्या सबैको नजरमा परेको थियो ।
अहिले बुटवल उप–महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । झण्डै २० वर्षदेखि जनप्रतिनिधिबिहीन अवस्थामा रहेको नगरमा जनप्रतिनिधि चयनभएपछि अब यो समस्याको समाधान पनि सहज हुने त्यो समुदायको अपेक्षा छ ।
जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले सोही समस्या समाधानका लागि चासो दिदै महत्वपूर्ण निर्णय गरेको छ । नगर प्रमुख शिवराज सुवेदी, उपप्रुमख गोमादेवी आचार्यसहित नगरका सबै १९ वटै वडाका अध्यक्ष र नगरका कार्यकारी अधिकृत, अधिकृतहरुसहितको बैठकले बुटवलको अव्यवस्थित बस्तीको लगत संकलन गरी समाधानका प्रभावकारी कामहरु अगाडि बढाउने निर्णय गरेको छ ।


बुटवल उप–महानगरपालिकाको नगर कार्यपालिकाको पहिलो बैठक शनिबार बसेको थियो । सोही बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगर भित्र रहेको अव्यवस्थित बसोबासको समस्याहरुलाई समधान गर्ने, अभिलेख तयार पार्ने र त्यसको व्यवस्थित अध्ययन गर्ने र सार्वजनिक जग्गा संरक्षणको प्रभावकारी काम गर्ने निर्णय गरेको छ ।
बैठकले नगरका रहेका अव्यवस्थित बसोबासीहरुको अभिलेख संकलन, सार्वजनिक जग्गाको संरक्षण र समस्या समाधानका लागि कार्यदल गठन भएको छ ।
कार्यदलको संयोजकमा कार्यपालिकाका सदस्य तथा बुटवल–११, का वडा अध्यक्ष रामचन्द्र क्षेत्री चयन भएका छन् । कार्यदलमा नगरका अधिकृतहरु, विषय विज्ञहरु सामेल गरिने छन् । उक्त कार्यदलले तीन महिना भित्र अव्यवस्थित बसोबासको स्पष्ट लगत संकलन गर्नेछ ।
त्यस्तै एकिकृत बृहत शहरी विकास गुरुयोजना निर्माण लागि शहरी योजनाकार शुसिल ज्ञवालीको संयोजकत्वमा विभिन्न विधाका विज्ञहरु रहने गरी एक विज्ञ समुह गठन गर्ने पनि निर्णय भएको छ ।
बुटवलको समग्र खानेपानी समस्या समधान गर्न खानेपानी बोर्ड गठनका लागि कानुनी र व्यहारिक पक्षको समेत अध्ययन गरी प्रतिवेदन तयार पार्ने निर्णय पनि पहिलो बैठकले गरेको छ । खानेपानीको समस्यालाई समाधान गर्नका लागि उप–मेयर गोमादेवी आचार्यको संयोजकत्वमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख र खानेपानी संस्थानका प्रमुख रहने कार्यदलले गठन गर्ने निर्णय गरेको बुटवलका प्रबक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
बुटवललाई उज्यालो सहरको रुपमा विकास गर्न सडक बत्ती र स्वच्छ नगरपालिका बनाउने पनि बैठकले निर्णय गरेको छ । साथै सरसफाई कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने बैठकको निर्णय गरेको छ ।
त्यस्तै साउने देखि संकलन गरिने राजश्वहरु वडा कार्यालयबाट संकलन गर्ने र सेवा प्रवाहलाई वडा स्तरबाटै प्रभावकारी गराउने कार्यपालिकाको निर्णय छ । ‘सहज सेवा प्रवाह गरी घर आगनमा सरकारको अनुभुती दिलाउने तर्फ गम्भीर छौं’ बुटवलका प्रमुख शिवराज सुवेदीले भने– बुटवलको समृद्धिका लागि सबैसित सहकार्य गरेर अगाडि बढिने छ ।’
यस्तै नगरसभामा पेश हुने विभिन्न विधेयकहरुको मसयौदा, बार्षिक बजेट, निती तथा कार्यक्रमहरुको आवश्यक तयारीको लागि उप–प्रमुख गोमादेवी आचार्यको संयोजक, कार्यकारी अधिकृत र महाशाखा प्रमुखहरुको कार्यदल गठन गर्ने पनि शनिबारको पहिलो बैठकले निर्णय गरेको छ ।
नगर प्रमुख सुवेदीले जनतालाई चुस्त र दुरुस्त सेवाका लागि जनप्रतिनिधीहरु आतुर रहेकाले सुसासन कायम गर्दै आफुहरु अगाडि बढने बताए । जनप्रतिनिधीहरु नहुँदा हुने विकास निर्माणका काममा आउने सुस्तता र जनमुखी सेवाका लागि आवश्यक कार्य गर्ने उनको भनाई छ । पहिलो बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयनको चरणमा ल्याउन आफु लागि पर्ने समेत प्रमुख सुवेदीले बताए

प्राप्त प्रतिकृयाहरू

To Top