सन्दीपको कप्तानीमा यू–१९ टोली

खेल असार ३० २०७४ .
Sandip

काठमाडाैं  असार,३० । सन्दीप लामिछानेको कप्तानीमा नेपालले आइसिसी यू–१९ विश्वकप क्वालिफायर एसियन छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा स्थानीय टोलीविरुद्ध अभ्यास खेलमा प्रदर्शनका आधारमा बिहीबार १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । सिनियर राष्ट्रिय टोलीबाट समेत प्रतिस्पर्धा गरिसकेका दीपेन्द्रसिंह ऐरी र मोहमद असिफ शेखले पनि स्थान बनाएका छन् । १७ जुलाईदेखि सिंगापुरमा आइसिसी यू–१९ विश्वकप छनोट हुँदै छ ।


नेपालले छनोट चरणको पहिलो खेलमा आयोजक सिंगापुरविरुद्ध १७ जुलाईमा सामना गर्नेछ । नेपालले क्रमशः मलेसिया र अफगानिस्तानसँग खेल्नेछ । दोहोरो राउन्ड लिगअन्तर्गतमा नेपालले प्रत्येक राष्ट्रविरुद्ध दुईपटक प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष आउने राष्ट्र सीधै आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनेछ । नेपाली टोली भारतबाट सीधै १५ जुलाईमा सिंगापुरमा पुग्नेछ ।


विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउन सुरुवातमा ५२ खेलाडी छनोट भएका थिए । छनोटकर्ताहरूले विभिन्न प्रतियोगितामा देखाएको प्रदर्शन आधारमा खेलाडी छनोट गरेका हुन् । त्यसपछि ३६ खेलाडीमा सीमित भएको हो । यसबीच नेपाली युवा टोलीले भारतमा अभ्यास खेल खेल्यो । त्यसबाट अन्तिम १४ खेलाडी छनोट भएको हो । घोषित टोलीमा सन्दीप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुशान्त थापा वैकल्पिक खेलाडीमा छन् । आइसिसी एसियाका डेभलपमेन्ट अफिसिर बेंकतपथी राजु, नेपालका प्रमुख प्रशिक्षक जगत टमाटा र यू–१९ का प्रमुख प्रशिक्षक विनोद दासले अन्तिम १४ खेलाडी छनोट गरेका हुन् ।


सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, मोहमद अरिफ शेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार शाह, पवन सराफ, रोहितकुमार, पौडेल, ललितनारायण, राजवंशी, प्रनित थापामगर, आदिल खान, किशोर महतो, राजन ढकाल, साहव आलम

 

प्राप्त प्रतिकृयाहरू

To Top