घरेलु मैदानमा बंगलादेशविरुद्ध विमलको गोल

खेल असार २७ २०७४ .
Football

काठमाडौं असार २७ । नेपाल र बङ्गलादेशको–२३ वर्षमुनिको राष्ट्रिय टोलीबीच अहिले मैत्रीपूर्ण  फुटबल भइरहेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भइरहेको खेलमा नेपालले १–० को अग्रता लिएको छ । नेपाली टोलीका कप्तान विमल घर्तीमगरले २०औँ मिनेटमा गोल गर्दै  नेपाललाई अग्रता दिलाएका हुन् ।

विमलले अग्रपंक्तिका अन्जन विष्टले दिएकाे पासमा गोल गरेका हुन् । २३ वर्ष मुनिको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले यो मैत्रीपूर्ण खेलले एसियन कप छनोट खेलका लागि सहयोग गर्ने बताएका छन् । नेपालको यही टोलीले संयुक्त अरब इमिरेट्स युएईमा जुलाई १५ तारिखदेखि हुने २३ वर्ष मुनिको एएफसी फुटबल छनोट चरण खेल्ने छ ।

नेपाली टोलीमा एलन न्यौपाने, अशोक बराल र किशोर गिरी गोलरक्षक छन् । त्यस्तै, रक्षकमा उपकप्तान अनन्त तामाङ्ग, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ्ग, निरज बस्नेत, छिरिङ्ग गुरुङ्ग र लक्ष्मण जिसी छन् ।

मध्यपंक्तिमा हेमन गुरुङ्ग, हेमन्त थापा मगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ्ग, दोन थापा र विवेक बस्नेत रहेका छन् । अग्रपंक्तिमा विमल घर्तीसंगै अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ समावेश छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top