समाचार / बिचार

शिक्षाबारे मेरो एउटा सपना छ

असार १८ २०७४     आमिर खान
Aamir khan 9eqjh77cu4

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, ‘क्रिएटिभ’ मान्छे हुँ । तपाईंहरुले शिक्षा के हो भन्ने बारेमा राम्रो गरी बुझ्नु भएको छ । किनभने तपाईंहरु यतिका वर्षदेखि शिक्षाको क्षेत्रमा हुनुहुन्छ । पछिल्ला केही वर्षहरुमा मैले पनि केही अनुभव बटुल्न पाएँ । त्यो पनि कसरी भने मैले केही सिनेमाहरु बनाएँ ।


‘तारे जमिन पर’ र ‘थ्री इडियट’ यी दुवै सिनेमा शिक्षाको विषयमा छन् । त्यो सिनेमा बनाउनुअघि मैले त्यस विषय र क्षेत्रमा निकै अनुसन्धान गरेँ । त्यहाँदेखि मेरो मनमा केही कुरा लागेको छ अर्थात् त्यो अनुसन्धानबाट केही कुरा सतहमा आएका छन् । तिनै कुरा म तपाईंहरुको अघिल्लतिर राख्न चाहन्छु ।


यहाँ शिक्षाका क्षेत्रमा काम गर्नुभएका शिक्षक, अभिभावक, विद्यार्थी सबै हुनुहुन्छ, थाहा छैन म कति ठीक अथवा बेठीक बोलिरहेको छु । तर मेरा केही विचारहरु छन्, जुन म तपाईंहरु सामु राख्न चाहन्छु । यस क्रममा मैले के पाएँ भने सबै बालबालिका विशिष्ट हुन्छन् । मैले आफ्नो शिक्षासम्बन्धी अनुसन्धानमा जे कुरा पत्ता लगाएँ, त्यो भनेकै के हो भने सबै बालाबालिकामा आ–आफ्नै किसिमका विशिष्टताहरु हुन्छन् ।


सबै बालबालिकाहरुमा हामीमा जस्तै केही न केही खुबी हुन्छन् । केही कमजोरी हुन्छन् । ममा पनि कमजोरी छ तर सँगसँगै केही खुबी पनि छ । तपाईंहरुमा पनि केही न केही विशिष्टता र केही कमजोरीहरु छन् । त्यसै गरी हरेक बालबालिकामा त्यो विशिष्टता र कमजोरी हुन्छन् । यहीँनेर हामी अभिभावक, शिक्षा क्षेत्रमा काम गर्ने मानिसहरु भएको नाताले हामीले सबै बालबालिकाहरुको विशिष्टतालाई चिन्नु पर्नेछ र सहयोग गर्नुपर्नेछ ।
मलाई लाग्छ सबैभन्दा ठूलो प्रश्न के हो भने त्यसबाट कति जना बालबालिका खुसी छन् ? यही मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । किनभने हामी पढ्न लेख्न त सकिनै हाल्छौँ । जब मैले कुनै पनि कुरा सिक्नुपर्नेछ भने म केही न केही गरी सिकिहाल्छु ।


उनीहरुको रुचि केमा छ ? उनीहरुको मन केमा प्रशन्न हुन्छन् ? उनीहरुलाई के कुरामा खुसी लाग्छ ? त्यसमा  हामीले उनीहरुलाई सहयोग गर्नुपर्नेछ । त्यो सहयोगका आधारमा उनीहरुले आफूभित्र भएको क्षता खोज्न सकून । साथसाथै उनीहरुभित्रको कमजोरी के हो त्यसमा हामीले उनीहरुलाई सहयोग गर्नुपर्नेछ ।
मलाई अझै पनि सम्झना छ, हरेकजसो शैक्षिक संस्थाहरुले– हाम्रो विद्यालयमा सबै विद्यार्थी पास हुन्छन्, सबै विद्यार्थी पहिलो श्रेणीमा पास हुन्छन् अथवा बोर्ड परीक्षामा हाम्रा सबै विद्यार्थी पास भए भनेर भनिरहेका हुन्छन् । मलाई भनेँ यहीँ नेर एउटा प्रश्न सोध्न मन लाग्छ– हाम्रा कति बालबालिका खुसी छन् त ?


मलाई लाग्छ सबैभन्दा ठूलो प्रश्न के हो भने त्यसबाट कति जना बालबालिका खुसी छन् ? यही मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । किनभने हामी पढ्न लेख्न त सकिनै हाल्छौँ । जब मैले कुनै पनि कुरा सिक्नुपर्नेछ भने म केही न केही गरी सिकिहाल्छु । ‘थ्री इडियट’ जब रिलिज हुनेक्रममा थियो त्योभन्दा अघि हामीले धेरै ठाउँमा ‘टेस्ट स्क्रिनिङ’ राखेका थियौँ । जस्तै ‘टेस्ट स्क्रिनिङ’मा के गर्ने गरिन्छ भने आम दर्शकहरुलाई बोलाएर सिनेमा देखाउने गरिन्छ र उहाँहरुलाई सिनेमा कस्तो लाग्यो भनेर सोधिन्छ ।


यस्तै ‘टेस्ट स्क्रिनिङ’ हामीले मुम्बईमा कारिगढहरुले काम गर्ने एउटा कारखानाबाट करिब २५–३० जनालाई बोलाएर गरेका थियौँ । सिनेमा सकिएपछि एकजना कारिगढले मलाई एउटा प्रश्न सोधे जुन प्रश्न गजबको थियो । तपाईंहरुले ‘थ्री इडियट’ सिनेमा त हेर्नु भएको छ होइन ?


उनले मलाई भने– सर सिनेमा सकिएपछि बल्ल थाहा भयो, तपाईं त रन्छोडदास चाचड अर्थात रेन्चो होइन भनेपछि पढेको प्रमाणपत्र पनि तपाईंको हात लागेन । त्यो त जावेद जाफरीले लगे भने तपाईं त्यति ठूलो वैज्ञानिक कसरी बन्नुभयो ? झण्डै चार सय जति पेटेन्ट्स छन्, जापानीहरु तपाईंको पछि परेका छन् । तर तपाईंसँग त पढेको प्रमाणपत्र नै छैन अनि वैज्ञानिक कसरी बन्नु भयो ?


यो प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । जुन सोझै यसको मुल मुद्दामा गएर ठोकिन्छ । जब म परीक्षाका लागि घोकेर उत्तर लेख्छु, उत्तर लेखेबापत नम्बर पाउँछु, नम्बरको आधारमा पास हुन्छु र पास भएको आधारमा मेरो हातमा एउटा चिर्कटो आउँछ, जसले म पढेलेखेको मान्छे हुँ भन्छ ।


तर वास्तवमै म पढेलेखेको छु कि छैन त्यसमा कसैलाई विश्वास हुँदैन । नभए हरेक ठाउँ चिर्कटो हुँदाहुँदै पनि मैले किन जाँच दिँदै हिँड्नु पर्छ । किनकि मेरो पढेलेखेकोमा कसैलाई विश्वास छैन । तर जब मलाई अथवा तपाईंलाई लाग्छ कि अब मलाई ज्ञान चाहिएको छ त्यो कागजको खोस्टोको कुनै अर्थ हुँदैन ।
एजुकेसन इज वियोन्ड द माक्स । एजुकेसन इज वियोन्ड ग्रेड्स । एजुकेसन इज ह्वाट यु लर्न ।


त्यसपछि मैले उहाँलाई प्रतिउत्तरमा दुईवटा प्रश्न गरेँ । भनेँ, दाजु के तपाईंलाई म राम्रो कलाकार अथवा अभिनेता हुँ भन्ने लाग्छ ? उहाँले भन्नु भयो भन्ने लाग्छ । र देशैभरि तपाईंलाई सबैले निकै राम्रो कलाकार हो भन्छन् । अनि मैले भनेँ, दाजु मलाई जसले राम्रो कलाकार, अभिनेता हो भन्छन् । उनीहरुलाई देखाउन मसँग कुनै प्रमाणपत्र छैन । मसँग त्यस्तो कुनै कागजको चिर्कटो छैन, जसका आधारमा मैले म राम्रो कलाकार, अभिनेता भएको देखाउन सकूँ ।


त्यसपछि मैले दोस्रो प्रश्न गरेँ । भनेँ, दाजु तपाईं निकै राम्रो ‘कटर’ हो भन्ने सुनेको छु । तपार्इंका बोसले भनेअनुसार तपाईं उहाँको मुख्य मान्छे हो र तपार्इंलाई उहाँले निकै सम्मान गर्नुहुन्छ । के तपाईंसँग कुनै कागज, प्रमाणपत्र छ, जसका आधारमा मलाई थाहा होस् कि तपाईं साँच्चै राम्रो ‘कटर’ हो । उहाँले भन्नुभयो, छैन सर । मसँग त्यस्तो केही पनि छैन । त्यसपछि मैले भनेँ, तपाईंले सोधेको कुराको उत्तर यहीँ छ ।


एजुकेसन इज वियोन्ड द माक्स । एजुकेसन इज वियोन्ड ग्रेड्स । एजुकेसन इज ह्वाट यु लर्न । मेरो एउटा के इच्छा छ भने हामीले शिक्षालाई त्यो दृष्टिकोणका साथ हेर्न सकौँ कि हामीले हाम्रा बालबालिकालाई वास्तविक शिक्षा दिन सकौँ र त्यो शिक्षा पनि हामीले खुसीका साथ दिन सकौँ । किनभने शिक्षामा ज्ञान मात्र हुँदैन । शिक्षामा अर्को कुरा पनि मिसिएको हुन्छ त्यो के हो भने हामीले हाम्रा बालबालिकाको निर्माण गरी रहेका हुन्छौँ एज अ ह्युमन बिइङ ।


हामीले एउटा त्यस्तो मानिसको निर्माण गरिरहेका हुन्छौँ जो भविष्यमा राम्रो मानिस बनोस् । भविष्यमा उनीहरु आफ्नो खुट्टामा उभिन सकून । भविष्यमा उनीहरु सम्मानपूर्वक जीवन जिउन सकून् । भविष्यमा उनीहरुले आफू जस्तै सबैलाई ध्यान दिन सकून् । भविष्यमा उनीहरुले अरुको मुहारमा खुसी ल्याउन सकून ।

भविष्यमा उनीहरुले कोही न कोहीलाई सहयोग गर्न सकून् । हामीले हाम्रा बालबालिकामा यो कुराको विकास गर्न सकौँ यही मेरो भावना हो । यही मेरो सपना हो ।
तर, मैले जताततै के देख्ने गरेको छु, जुन मैले मेरो बाल्यकालमा पनि बेहोरेँ । घरमा आउने वित्तिकै हामीले सोध्छौँ कति अङ्क ल्याइस् ? कुन स्थान हासिल गरिस् ?, पहिलो श्रेणी कि दोस्रो ? ती बच्चाबच्चीले दोस्रो आएँ भने भने किन दोस्रो, कसरी दोस्रो, मैले यतिका गरेको के भयो भन्ने सुनेरै हैरान । जसले म दशौँ श्रेणी भन्छ त्यसको त हालत खराब भइसक्छ ।


त्यहीँबाट ती बालबालिकालाई लाग्छ थाल्छ, अरे यार यो पहिलो हनु अति नै जरुरी रहेछ । भन्नुको अर्थ हामीले उसलाई केजी जस्तो सानो क्लासबाटै पहिलो हुनुपर्छ भन्ने सिकाउँछौँ । त्यहाँ उसले चम्चामा कागती राखेर दौडिनुपर्छ र पहिलो नै हुनुपर्छ । त्यति सानो बाल मानसिकताबाटै पहिलो हुन घोकाएपछि बालबालिकालाई के लाग्छ भने पहिलो भन्ने कुरा निकै आवश्यक कुरा रहेछ । भन्नुको अर्थ जसरी भए पनि पहिलो हुने ।


त्यसपछि उसको अन्तरआत्मामा अब्बल हुने कुराले छाप बनाउँछ । यसले कुन मानसिकताको विकास गर्छ भने अरुलाई छोडेर जसरी भए पनि अगाडि नै हुनुछ । शिक्षकले पनि पटक पटक यही कुरा सोधिरहेका हुन्छन् । जुन आम रुपमा हाम्रो समाजमा हुने गरेको छ र मसँग पनि भयो ।


त्यसरी हुर्किएका बालबालिका युवा भएसँगै निकै आत्मकेन्द्रित स्वार्थी भइसक्छन् । उनीहरुलाई आत्मकेन्द्रित र स्वार्थी हामीले हाम्रो सिस्टमले बनाएको हो । त्यस्तो युवाले आफ्नो बारेमा सोच्छ अरु कसैको बारेमा सोच्दैनन् । किनभने हामीले उनीहरुलाई त्यसैगरी प्रशिक्षित गरेका हुन्छौँ । सानैदेखि हामीले उनीहरुलाई त्यही प्रशिक्षण दिइरहेका हुन्छौँ कि हेर तिमी जसरी भए पनि अगाडि हुनु, अरुको मतलब, स्वाद नगर्नू ।


त्यस्ता युवाको सामाजिक दृष्टिकोण कसरी निर्माण भइसकेको हुन्छ भने जसरी भए पनि म अगाडि जानुपर्नेछ । आई एम अ सक्सिड । आई डन्ट केयर एबाउट एनी बडी एल्स ।


मेरो अन्तरआत्माले के चाहन्छ भने हामी जति पनि अभिवाकहरु छौँ, युवाहरु जो भोलि आफै अभिवाक हुनुहुनेछ, उहाँहरुले सोचून् हामीले हाम्रो बालबालिकालाई यो प्रशिक्षण दिन सक्यौँ भने, यो प्रश्न गर्न सक्यौँ भने, आज तिमीले कसलाई सहयोग गर्यौ ? आज कसको मुहारमा तिमीले खुसी ल्यायौँ ? आज तिमीले आफ्नो होइन कि अरुको कसरी ख्याल राख्यौ ? उनीहरुलाई के लाग्न थाल्छ भने महत्वपूर्ण त यो रहेछ न कि परीक्षामा अङ्क ल्याउनु ।


उनीहरुलाई पनि लागोस मलाई त मेरा अभिभावकहरुले कहिलै पनि तैँले अङ्क कति ल्याइस भनेर सोध्दैनन् । उनीहरुले त आज तँैले कसलाई कसरी सहयोग गरिस् भनेर सोध्छन् भन्ने भावनाकासाथ उनीहरुको विकास भयो भने विद्यालयमा पढ्न पनि उनीहरुले नै पढ्ने छन् र समाजलाई हेर्ने उनीहरुको दृष्टिकोणमा निकै ठूलो भिन्नता आउने छ ।


तपाईं आफै कल्पना गर्नुस् त आजका सबै बालबालिकाले यसै गरी सोच्न थाले भने आजको २०–२२ वर्षपछिको हाम्रो समाज पूरै परिवर्तन भैसकेको हुन्छ । त्यसबेला त्यस्ता युवाहरु हाम्रो समाजमा हुन्छन्, जसले आफ्ना बारे होइन अरुकाबारे सोचिरहेका हुनेछन् ।


त्यसैले मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा हाम्रो शिक्षा प्रणालीमा छ । म त्यो देख्न चाहन्छु, जुन मैले मेरो विद्यार्थीकालमा देख्न सकिनँ । मैले मेरो अङ्ंकको होइन कि समाजको विकासका लागि समाजका मानिसहरुका निम्ति सहयोगी बन्न सकूँ । यो खालको परिवर्तन आयो भने मलाई लाग्छ हाम्रो देश, हाम्रो समाज निकै बदलिनेछ ।

(खानले शिक्षासम्बन्धी एउटा गोष्ठीमा दिएको भाषणमा आधारित ।)

0 प्रतिकृयाहरू प्राप्त

To Top