बुटवलमा एसएसपी र एसपीको कमान्डमा निर्वाचन सुरक्षा टोली

राजनीति असार १३ २०७४ .
Btl 625x405

बुटवल   |   निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीको बेस बुटवलमा स्थापना भएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा स्थापना भएको बेसबाट यस क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक समन्वय, निर्देशन र अनुगमन गरिने समितिले जनाएको छ ।

 बुटवलमा समितिले आयोजना गरेको सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका पश्चिमाञ्चल प्रमुखबाट लुम्बिनीका ६ जिल्लाको सुरक्षा व्यवस्था मजबुत पार्न विभिन्न रणनीति अवलम्बन गरेको जनाएको छ । निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गर्नुपर्ने सुरक्षा रणनीतिअनुसार कार्यान्वयन गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

निर्वाचन सुरक्षामै केन्द्रित भएर पटक–पटक प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृतलगायतको उपस्थितिमा सुरक्षा गोष्ठीसमेत भइरहेको समितिले जनाएको छ । स्थानीय निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित गराउने उद्देश्यले क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीबाट निरीक्षण र अनुगमनसमेत गरिएको छ । प्रहरी नायब महानिरीक्षक पुडासैनीले ५२ मतदानस्थल र ७० प्रहरी एकाइ तथा मातहत कार्यालय प्रमुखबाट ६ सय ४९ मतदानस्थल र २ सय ७९ वटा प्रहरी इकाइको निरीक्षण गरेको जनाइएको छ ।

प्रदेश नम्बर ५ का ६ जिल्लाको स्थानीय निर्वाचन अनुगमन, समन्वय र आवश्यक सहयोगका लागि एसपी कमान्डको टोली खटिने भएको छ । जसअन्तर्गत प्रहरीयुक्त महाविद्यालय जर्घा नवलपरासीका प्रमुखलाई नवलपरासी, प्रहरी तालिम केन्द्र बुटवलका प्रमुखलाई कपिलवस्तु, अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुखलाई पाल्पा, अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुखलाई रुपन्देही, सशस्त्र प्रहरी गण पोखराका गणपतिलाई गुल्मी, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुखलाई अर्घाखाँची खटाइएको छ ।

यस्तै, दंगा नियन्त्रण गण रुपन्देहीका गणपतिलाई कपिलवस्तु, रुपन्देही, नवलपरासी, पाल्पा र अर्घाखाँची जिल्लाका राजमार्ग आसपासका मतदान केन्द्रको अनुगमन, समन्वय र आवश्यक सहयोगका लागि खटाइएको छ । विषम परिस्थितिमा थप मद्दत र सहयोगका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराको ३५ जनाको ‘रिजर्भ ’ टोली जिल्ला प्रहरी कार्यालय पाल्पामा खटाइएको छ ।

कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनी, अतिरिक्त सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक सुबोधकुमार अधिकारी, राष्ट्रिय अनुसन्धानका पश्चिमाञ्चल प्रमुख कुलदेव थापाले निर्वाचन सुरक्षाबारे जानाकारी गराएका थिए ।

अति संवेदनशील मतदान केन्द्रमा कडाइ
६ जिल्लाका ९ सय १० मतदानस्थलमध्ये ३ सय ४६ स्थल अति संवेदनशील, २ सय ४५ संवेदनशील र ३ सय ९१ सामान्य भनेर प्रहरीले वर्गीकरण गरेको छ । सोही आधारमा अति संवेदनशीलस्थलमा सुरक्षा व्यवस्था कडा बनाएको समितिको भनाइ छ ।

संवेदनशील मतदानस्थलमा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटाइएको छ । साथै मोबाइल, रिजर्भ र रिजर्भ बेस आवश्यकताअनुसार प्रहरी नायब उपरीक्षक प्रहरी निरीक्षकको कमान्डमा परिचालन गरिएको छ । संवेदनशीलताका आधारमा मतदानस्थलमा २३ जनासम्म प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ ।


माओवादी केन्द्रबाट रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ का खुला सदस्यका उम्मेदवार मुरली मल्लाहको मृत्यु भएपछि सो वडाको निर्वाचन स्थगित भएको । यस वडामा १६ असारमा निर्वाचन गरिने निर्वाचन अधिकारी हुमनाथ गौतमले जनाए । यता, नवलपरासीमा ४ जना सदस्य पदका उम्मेदवार निर्विरोध निर्वाचित भएको बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top