१४ गतेको निर्वाचनमा ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आह्वान

राजनीति असार १२ २०७४ .
Pravakar

असार १२ । काठमाडौं–सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् ।
 सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था थप विकसित र परिमार्जित गरिएको पनि स्पष्ट पारे   ।
बुधबार १, ५ र ७ नम्बर प्रदेश अन्तरगतका ३ सय ३४ वटा स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्री शर्माले निर्वाचनका लागि आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको पनि स्मरण गराए । उनले मतदान केन्द्र, मतदान स्थल, मतपेटिकाको सुरक्षा र मतगणना समेतलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको पनि बताए ।
 सरकारले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा सुरक्षा घेरा बनाएर सुरक्षाकर्मी परिचालन गर्ने नीति नै बनाएको छ ।

गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न सरकारले तीन चरणमा निर्वाचन गर्नु परेको पनि प्रष्टिकरण दिए ।
उनले मधेश केन्द्रित सबै दललाई निर्वाचन ल्याउन पनि सरकारले तेस्रो चरणको निर्वाचन असोज २ गते गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।
 गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हैसियतमा राष्ट्रिय जनता पार्टी, नेपालले समेत निर्वाचनमा भाग लिने वातावरण बनाउनु सरकारको ठूलो सफलता भएको पनि उल्लेख गरे । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत निर्वाचनमा भाग लिएकोमा खुसी समेत व्यक्त गरे ।

गृह मन्त्रालयले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आवश्यक्ता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था गरेको पनि जनाएको छ ।
गृहमन्त्री शर्माले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न पनि सबैमा आग्रह गरे ।
 बुधबार तीन वटा प्रदेश अन्तरगतका ३५ जिल्लाका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा निर्वाचन हुँदैछ । यता, निर्वाचन आयोगले पनि सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top