समाचार / राजनीति

एमाले केन्द्रीय सदस्य एवं सांसद् लिम्बूको निधन

असार ११ २०७४     .
Saradhanjali 25

काठमाडौँ ।

नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।


धनकुटास्थित साविकको बुढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानी लिम्बुबाट विक्रम् सम्बत् २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बु त्यस क्षेत्रमा लोकप्रिय हुनुका साथै पार्टीकी प्रतिबद्ध नेतृ हुनुुहुन्थ्यो ।

०४९ सालमा उक्त गाविसको उपाध्यक्ष र ०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बुले ०५५ सालमा गाविस राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित देशभरका गाविसहरुलाई नीतिगत नेतृत्व प्रदान गर्नुभएको थियो ।
०५३ देखि ०६१ सालसम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र ०६२ सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी कमरेड लिम्बु ०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य र ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँ ०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । अखिल नेपाल महिला संघका विभिन्न कमिटीहरुमा रहेर काम गर्नुभएकी महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गर्नुभएको थियो । उहाँका पति दलबहादुर लिम्बु, दुई छोरा, एक छोरी हुनुहुन्छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ति जारी गरी लिम्बुको निधनबाट पार्टीले एकजना अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको छैन, जनताले असल जनसेवी अभिभावक गुमाएको जनाउनुभएको छ । ”अडानमा दृढता र व्यवहारमा शालीनता लिम्बुको खास विशेषता” रहेको भन्दै विज्ञप्तिमा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।

पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको निधन

नेकपा (एमालेका डडेल्धुरा जिल्लाको पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनको प्रचारमा रहकै समयमा यही असार ८ गते निधन भएको । वडा नं. ११ मा आयोजित आमसभालाई सम्बोधन गर्दैगर्दा हृदयघातबाट ढलेपछि उहाँलाई उपचारका लागि डोटीको बोडरस्थित प्राथमिक स्वास्थ चौकीमा पु¥याइएको थियो ।
विसं. २०२८ मंसीर २५ गते जन्मनुभएका त्यस क्षेत्रका स्थापित नेता कमरेड महताले यसअघि तीन कार्यकाल साविकको जोगबुढा गाउँ कमिटीको सचिव हुनुका साथ दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा

नेतृत्व दिनुभएको थियो । विगत द्वन्द्वका बेला राज्य पक्षबाट झुटा मुद्दा लगाएर थुनिँदा पनि महता विचलित नभएर पार्टीका पक्षमा दृढतापूर्वक उभिनुका साथै त्यसबाट उम्किएपछि पार्टी काममा थप सक्रिय बन्नुभएको थियो । उहाँका चार छोरा र दुई छोरी छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ती जारी गरी दिवंगत महताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top