सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जित्नै पर्छ ः भुसाल

राजनीति असार १० २०७४ .
Uml rupendehi

भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए ।

एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी नगरहरु छोटो समयमा विकास निर्माणमा फड्को मारिरहँदा सबैभन्दा पुरानो, पर्यटकीय, र आर्थिक चलायमान भएको नगर पछाडि पर्नुमा वर्षौंदेखि यहाँ जरो गाडेर रहेका शक्ति नै दोषी भएको आरोप लगाए ।

‘एमालेले नै सबैको कदर गर्छ, विकासका मुहान फुटाउँछ’, पूर्वमन्त्री समेत रहेका भुसालले भने– ‘पाँच वर्ष एमालेलाई नेतृत्व दिनुस् विश्वको ध्यान केन्द्रित हुने गरी काम गर्छौं, सबैको सम्मान गर्छौ, सबैको अधिकार संरक्षण गर्छौं ।’ मेयरका उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयरकी उम्मेदवार उमा काफ्ले समाज र नगर विकासका सच्चा खम्बा भएको बताउँदै उनले विगतमा उनीहरुले देखाएको नैतिकता, इमान्दारिता, पारदर्शिता, विकासका योजनालाई हेरी जिताउन नगरबासीलाई आग्रह गरे ।

केन्द्रिय सदस्य एवं मधेश मामिलाका जानकार प्राध्यापक डा.लालबाबु प्रसाद यादवले एमालेले जिते मात्रै समग्र मधेशको विकास सम्भव भएको बताए । आफू पनि मधेशको धर्ती पुत्र भएको बताउँदै उनले एमाले सरकारको पालामा जति इतिहासमा मधेशले सेवा, सुविधा र विकास निर्माणमा बजेट नपाएको दावी गरे ।
 ‘सधै मधेशको ठेकेदार सम्झने केही दल र तिनका नेताहरुले एमालेलाई मधेश विरोधी भन्छन् तर आफूले मधेशका लागि के गरेँ भनेर कहिल्यै बताउन सक्दैनन्’, यादवले भने– ‘यदि मधेशी जनता र मधेलाई हित हुने योजना छन् भने केबल एमालेसँग मात्रै छन् ।’

प्रजातन्त्र र लोकतन्त्रवादी सम्झने काँग्रेस, माओवादी, मधेश केन्द्रित दलहरु तथा राजावादी र हिन्दू धर्मको वकालत गर्ने राप्रपाकै कारण मधेशी जनता सधै शोषणमा परेको जनाउँदै यादवले असार १४ मा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई जिताई मधेशमा विकासको मुहान फुटाउन आग्रह गरे ।

एमाले नेता तथा सांसद आदित्य नारायण कसौधनले सबै जातजाति, धर्म, संस्कृति र समुदायको संरक्षण गर्ने पार्टी एमाले नै भएको बताए । उनले सिद्धार्थनगरको विकासका लागि एमालेले धेरै काम गरेको बताउँदै आगामी दिनमा नगरलाई समृद्धिको बाटोमा डोर्याउन जसरी पनि एमाले उम्मेदवारहरुलाई जिताउन नगरबासीलाई आग्रह गरे ।

मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयर पदकी उम्मेदवार उमा काफ्लेले आफूहरुले जहिले पनि जनमतको कदर गर्ने बताउँदै निर्वाचित भए नगरलाई समुन्नत र विकासित नगर बनाउने बताए । उनीहरुले सुशासन र पारदर्शिता आफूहरुको पहिलो प्राथमिकता भएको बताउँदै महिला, पिछडा, सीमान्तकृत, अल्पसंख्य, आदिवासी, मधेशी, मुस्लिम समुदायको हकअधिकार संरक्षण गर्दै नगरलाई सुन्दर, हराभरा र पर्यटकीय नगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top