रोनाल्डोले ट्याक्स छलेको आरोप

खेल असार ३ २०७४ .

म्याड्रिड ,रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ट्याक्स छलेको खुलासा भएको छ । म्याड्रिडको अपराध अभियोजन संस्थाका अनुसार रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म १४ करोड ७० लाख पाउन्ड कर तिरेनन् ।

संस्थाले पोर्चुगल फुटबल संघ र रियल म्याड्रिड क्लबलाई समेत रोनाल्डोद्वारा कर छलेको जानकारी दिएको छ । ‘रोनाल्डोले चार वर्ष स्पेनिस सरकारलाई सबै कर तिरेको देखिँदैन, उनले यस अवधिमा कर छले,’ संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आम्दानी लुकाइयो
रियलबाट प्रतिसाता ३ लाख ६५ हजार पाउन्ड पारिश्रमिक लिने रोनाल्डोले आफ्नो वास्तविक आम्दानी लुकाएको संस्थाले दाबी गरेको छ । ‘हाम्रो अनुसन्धानमा रोनाल्डोले चार वर्षभित्रको आम्दानी लुकाएको देखिन्छ,’ अपराध अभियोजन संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘कर विभागलाई बुझाएको रिपोर्टमा रोनाल्डोले चार वर्ष कर छलेको स्पष्ट छ र हाम्रो अनुसन्धानले पनि यही प्रमाणित गरेको छ ।’ सन् २०१४ मा रोनाल्डोले ८ करोड ५० लाख ८४ सय १९ पाउन्ड कर विभागलाई बुझाएनन् ।

मेसीपछि रोनाल्डो
स्पेनमा स्टार फुटबलरले कर छलेको यो पहिलो घटना भने होइन । बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीमाथि कर छलेको आरोप छ । मेसी र उनका बुबा कर छलेको आरोपमै अदालतमा धाइरहेका छन् । गत वर्ष स्पेनको एक अदालतले मेसी र उनका बुबाले कर छलेको फैसला गर्दै २१ महिना जेल सजाय सुनाएको थियो । आपराधिक घटनामा संलग्न नभएका कारण मेसी जेल जानु परेन । तर, उनी अदालतमा हाजिर भने हुनुपर्छ ।

रियल विश्वस्त
रियल आफ्ना स्टार फुटबलर रोनाल्डोद्वारा कर नछलेको पक्षमा विश्वस्त छ । म्याड्रिडको अपराध अभियोजन संस्थाले पठाएको पत्रपछि रियलले तत्कालै विज्ञप्ति जारी गरेको छ । रियलको विज्ञप्तिमा भनिएको छ, ‘हामी रियल म्याड्रिड परिवार यति विश्वस्त छौँ कि रोनाल्डोले कुनै पनि वर्ष कर छलेका छैनन्, उनले नियमित रूपमै कर बुझाएका छन् ।’ रियलले आवश्यक परे म्याड्रिडको मुख्य कार्यालयमै रोनाल्डोका कागजपत्र हेर्न सकिने जनाएको छ । ‘भौचर तथा अन्य पत्रहरू म्याड्रिडको कार्यालयमा आएर हेर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्रत्येक खेलाडीका सबै रिपोर्ट र भौचर संकलन गरेका छौँ ।’

प्राप्त प्रतिकृयाहरू

To Top