रात्रिकालीन गुल्जार बुटवलको अवधारणा

समाज असार ४ २०७४ .
Night market 1024x683

बुटवल, रुरु गाउँपालिका–५, गुल्मी टाहाटिमका गणेश पुरी भारतको हरियाणाबाट घर फर्किँदा पारी सुनौलीमै झमक्क साँझ परेको थियो । डिटिसीको गाडीबाट झरेर रिक्सा चढेर नेपाल आइपुग्दा राति परिसक्यो । उनी अरु केही साथीहरुसहित ट्याक्सी रिजर्भ गरेर बुटवलमा आइपुगे । बसपार्कमा सुनसान थियो, विजुली बत्ती पनि बलेका थिएनन उनी घरमा जानका लागि रात्री गाडी पनि थिएन् । उनी पैदलै नयाँगाउँसम्म पुगेर र रातिमा आफन्तलाई उठाएर बास बसे । उनी जस्ता कैयन मानिसहरु रातिमा बुटवलमा बास पाउँदैनन् । कारण राति सबेरै बुटवलका होटल लजहरु बन्द भइसक्छन् ।
भैरहवाकै पत्रकार नरेश केसी चरङ्गेमा आफन्तलाई भेटेर फर्किँदा बुटवलमा बाइक विग्रियो, मुस्किलले बाइक डोराएर होटल न्यू इराको गेटमा पुगे । तर १०ः३० भइसकेकाले होटल बन्द भइसकेको थियो ।
होटलका व्यवस्थापक दीपक ज्ञवालीलाई कैयनपटक फोन गरेर मुस्किलले खुलाएर राति बास बसे । यस्ता कैयन घटना छन जो रातिमा सितिमिति होटल खुल्दैनन् । खुलेका केही होटल पनि स्तरीय हुँदैनन् ।

बुटवलमा अहिले राति १० बज्दा नबज्दै होटलहरु बन्द हुन्छन् । सुरक्षा चुनौतिको विषय भन्दै प्रहरीले होटल १० बजे नै बन्द गर्न लगाउँछ । यो चुनाव सुरु भएपछिको अवस्था होइन् । यहाँ पहिले राति ९ बजे नै होटल बन्द गर्नुपर्ने प्रहरी उर्दी थियो । पछि होटल व्यवसायीहरुले व्यापक विरोध गरेपछि यो सरेर १० बजेसम्म पुयाइएको हो ।
बुटवललाई पर्यटकीय सहर भनिन्छ तर, बेलुका १० बजेपछि आउने कुनै पनि पर्यटकलाई बास बस्न होटल खुल्दैनन् । राति १० बजेपछि बुटवल सुतिसक्छ ।
युवा व्यवसायी हेम पन्थले चितवनबाट दाना मगाए । दाना ल्याएको गाडी बुटवलको बेसक्याम निर विग्रियो, त्यहीँ साइड लगाएर चालक र मार्केटिङ कर्मचारी राति बुटवलमा बास बस्न खोजे । तर, त्यतिबेला रातिको ११ बजिसकेकाले उनीहरुले होटेल खुलेका पाएनन् ।
अन्ततः पन्थ नै आफ्नै निवास नयाँगाउँबाट बुटवलमा गाडी लिएर पुगे र उनीहरुलाई घरमै लगेर राखे ।
यस्ता कैयन घटना छन जो रातिमा बुटवल सबेरै सुतिसक्दा धेरैले सास्ती पाउनुपरेको छ । बुटवलको ट्राफिकचोकमा केही कफिसपहरु छन तर, त्यहाँ लजहरु छैनन् । बसपार्कमा केही सेकुवा पोल्ने ठेलाहरु त छन तर, लजहरु भने राति १० बजेपछि बन्द भइहाल्छन् ।
होटल व्यवसायीका नेताहरु माधव नेपाल, समुन्द्र जिसी, रामप्रसाद गौतम, मोहन पाण्डेलगातका केही अगुवाहरु प्रहरी कार्यालयमा पुगेर यो समस्याका बारेमा सुनाए पनि । तर, प्रहरी प्रसाशनले केही एक्सन लिएन ।
‘पर्यटकीय सहर भन्ने तर, राति १० बजेपछि सुतिसक्छ कसरी पर्यटकीय सहर भयो ?’ होटल व्यवसायीका अगुवा माधव नेपालले भने–‘सुरक्षा संयन्त्र बलियो बनाऔं तर, रात्रीकालिन सेवा सञ्चालन गरौं ।’
माओवादीको जनयुद्ध ताक संकटकाल लागेका बेलामा ०५८ सालदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा सुरु भएको संकट युद्ध सकिएको १३ वर्षसम्म पनि उस्तै छ । मर्यादित छौं, नहुनेलाई कानुनी कारवाहीको दायरामा ल्याउन हामीले नै पहल गर्नेछौं’ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी भन्छन–रातिका पाहुनाले व्यक्तिगत चिनाजान र पहुँच भएमात्रै रातविरातमा बास पाउला अन्यथा पाउने अवस्था छैन् ।
१० बजे बन्द गराइहाल्नुपर्छ क्यारे आ, सुतौं भनेर कामदार र हामी पनि सुतिहाल्छौं सनराइज होटलका सञ्चालक रामप्रसाद गौतमले राति अबेर पारेर कहिलेकाही आउने पाहुनालाई सेवा दिन नसकिएको बताए । कहिलेकाही अबेरतिर पाहुना आउँछन र मोबाइलमा फोन गरेर खुलाउँने गरेका छन् ।

अब रात्रीकालीन गुल्जार बनाउने योजना
यसैबीच एमालेले बुटवललाई रात्रिकालिन गुल्जार बनाउने योजना ल्याएको छ । स्थानीय तहको चुनावमा तयार पारिएको प्रतिबद्धतामा एमालेले पर्यटकीय सहर बनाउने र त्यसका लागि आवश्यक कामहरु अगाडि बढाउने बताएको छ । बुटवल ऐतिहासिक र पर्यटकीय सहर हो । ‘यस्लाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि पनि रात्रिकालिन सेवा सहितको बुटवल बनाउन जरुरी छ’ स्थानीय प्रतिबद्धता पत्रका बारेमा प्रष्ट्याउँदै एमाले नेता तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठले भने–सुरक्षित बुटवल, सफा बुटवल, पर्यटक मैत्री बुटवल बनाउने अवधारणा एमालेको छ । एमालेले चोकहरुमा सिसिटिभी जडान गर्ने, त्यसको मनिटरिङ प्रहरी कार्यालयबाट गराउने, बढि भिडभाड हुने स्थानहरुमा सुरक्षा गस्तीहरु बढाउने र समुदायलाई नै परिचालन गर्ने एमालेको अवधारणामा छ । मेयरका उम्मेदवगार शिवराज सुवेदीले पार्टीले अगाडि सारेको अवधारणा समृद्ध बुटवलका लागि भएको बताए । उनले पाँच वर्षका लागि पाँच प्रतिबद्धता गरिएको पनि बताए । पाँच नम्बर प्रदेशको राजधानी र महानगरको पूर्वाधार, मानवतामैत्री सभ्य र समृद्ध सहर बुटवल, शिक्षा, स्वास्थ्य र रोजगारको केन्द्र तथा औद्योगिक र व्यवसायिक केन्द्र र प्रविधि र सेवाग्राहीमैत्री बुटवल उपमहानगरका पाँच वटा प्रतिबद्धता अगाडि सारिएको मेयरका उम्मेदवार सुवेदीले बताए । यसैगरी उपमेयरकी उम्मेदवार गोमा आचार्यले महिलामैत्री सहरका रुपमा बुटवललाई विकास गरिने प्रतिबद्धता गरिन् ।
रात्रिकालीन बुटवल सम्भव छ
यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएस्पी मुकुन्द मरासिनीले रात्रिकालिन बुटवल सम्भव रहेको बताए । तर, यसका लागि व्यवसायिक आचरणको निर्माण हुनुपर्ने र पूर्ण मर्यादित व्यवसाय हुनुपर्ने बताए । उनले प्रविधिको विकास गरेर ठाउँ ठाउँमा सिसी टिभी राख्ने र त्यो प्रहरीको विशेष कक्षमा मनिटरिङ गर्नेगरी आवश्यक जनशक्तिहरु राखियो भने यो सम्भव हुने बताए । अहिले १० बजे नै बन्द गर्नुपर्ने नियमनै बनाइएको बताउँदै उनले सबै कुराको तारतम्य मिल्यो भने यो सम्भव रहेको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top