निर्वाचन आयोगको कडा निर्देशन : मतगणना जारी राख्नूस्

राजनीति असार १६ २०७४ .
Election commission hamrakura 3.jpg

काठमाडौं असार १६  । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना कार्य अगाडि बढाउन सम्बन्धित सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेद्वार वा निजको प्रतिनिधि उपस्थित भएमा निजहरुको र उम्मेद्वार वा प्रतिनिधि उपस्थित नभएमा वा निजहरुले सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेद्वार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएको मानिने छ’ भन्ने व्यवस्था रहेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top