५ नं प्रदेशको तराई क्षेत्रमा राजपा र मौसमले समेत दियो मतदातालाई साथ

राजनीति असार १४ २०७४ .
Election 2074

रुपन्देही, असार १४ । ५ नं प्रदेशमा पर्ने तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र  नवलपरासीमा चुनाव शान्तिपूर्ण रुपमा चलिरहेको छ । चुनाव बहिस्कार गरेको राजपाले केही अवरोध गर्नसक्ने आशंका गरिएको यी तीनजिल्लाका सबै मतदानकेन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् । त्यहाँ राजपा लगायतका चुनावको विरोध गरिरहेकाहरुले समेत कुनैपनि अवरोध नगरेर साथ निर्वाचन सफल बनाउन साथ दिएको उनीहरुले बताएका छन् । 

रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाको वडा नं १ मा उम्मेदवारको निधन भएकोले त्यो  वडाको निर्वाचन स्थगित गरिएको बाहेक अन्यत्र सबैतिर निर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको जिल्ला निर्वाचन अधिकारी हुमनाथ गौतमले जानकारी दिए । सो वडामा १६ गतेको लागि निर्वाचनको मिति तोकिएको छ । जिल्लामा कूल मतदाता मध्ये ३५ प्रतिशत भन्दा माथि मत खसिसकेको पनि गौतमले जानकारी दिए ।  

त्यस्तै कपिलबस्तुमा पनि शान्तिपूर्ण रुपमा निर्वाचन चलिरहेको छ । जिल्ला निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले दिएको जानकारी अनुसार त्यहाँको मौसमले पनि साथ दिएको र अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । त्यहाँ अहिले चर्काे घाम पनि नलागेको र पानी पनि नपरेको अवस्था छ । 

त्यस्तै, नवलपरासीमा ५० प्रतिशत भन्दा बढी मत खसिसेको छ । निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीका अनुसार अहिले नवलपरासीमा कसैले पनि निर्वाचनको विरोध गर्न सकेका छैनन् । त्यहाँ अहिले मौसमले साथ दिएको उनले बताए ।  

प्राप्त प्रतिकृयाहरू

To Top