झरी छिचोल्दै दोस्रो चरणको स्थानीय निर्वाचनः मतदान सुरु

राजनीति असार १४ २०७४ .
Matadan

बुटवल असार १४ । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै  दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ ।
अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् ।
निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ ।

५ बजेभित्र मतदानका लागि लाइनमा बसेकाले मतदान गर्न सक्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन् ।

निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।

यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
 प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ को निर्वाचन सरेको छ । उक्त वडाका माओवादी केन्द्रका उम्मेदवार मुरारी मल्लाहको निधन भएपछि निर्वाचन १६ असारका लागि सारिएको हो ।
माओवादी केन्द्रले मुरारी मल्लाहको सट्टामा भोला मल्लाहलाई उम्मेदवार बनाएको छ ।

आयोगले स्थानीय निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र र सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top