ढुक्क भएर मतदान गर्नुस्:निर्वाचन आयोग

राजनीति असार १३ २०७४ .
Ayodhi prasad yadav 530x240

काठमाडौं असार १३  –स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन् ।
बुधबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि निर्धारण गरिएका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाई छ । १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोश्रो चरणको निर्वाचन हुँदैछ ।
निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको बताँउदै आयोगले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ ।

६२ हजार ४०८ उम्मेदवारहरू चुनावी मैदानमा, ४१ उम्मेदवार निर्विरोध
दोश्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  ४१ उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाइएको छ ।

निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे जनाएको छ ।
यस्तै आयोगले नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरुलाई तीनवटा प्रदेशका ६ वटा शहर धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको समेत व्यवस्था मिलाएको जनाएको छ ।
 
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top